काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन करिब एक वर्षपछि चीन पुगेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ। योनहापले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै किम चीन पुगेको समाचार सार्वजनिक गरेको हो।
रिपोर्टअनुसार किमले उत्तर कोरिया र चीनलाई जोड्ने नवनिर्मित ‘न्यु यालु रिभर ब्रिज’ हुँदै सीमा पार गरेका हुन्। एक दशकभन्दा बढी समयको ढिलाइपछि उक्त पुल यसै महिना सञ्चालनमा ल्याइएको बताइएको छ।
यद्यपि, किमको चीन भ्रमणबारे चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले अहिलेसम्म आधिकारिक पुष्टि गरेका छैनन्। दक्षिण कोरियाली राष्ट्रपति कार्यालय र एकीकरण मन्त्रालयले पनि योनहापको रिपोर्टबारे तत्काल कुनै पुष्टि गरेका छैनन्।
किमको कथित चीन भ्रमण उत्तर कोरियाले आफ्नो पुरानो सहयोगी चीनसँगको सम्बन्ध थप सुदृढ बनाउन प्रयास गरिरहेका बेला सार्वजनिक भएको हो। पछिल्ला वर्षहरूमा उनले रुससँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएका थिए।
उत्तर कोरियाले युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्दै हजारौँ सैनिक र परम्परागत हतियार पठाएको बताइएको छ। यसको बदलामा उत्तर कोरियाले रुसबाट सैन्य तथा आर्थिक सहयोग प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।
यद्यपि, पछिल्ला महिनाहरूमा किमले चीनसँगको सम्बन्ध सुधारमा पनि ध्यान केन्द्रित गरेका छन्। चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख सहयोगी तथा आर्थिक सहायताको महत्त्वपूर्ण स्रोत रहँदै आएको छ।
यसअघि गत जुन महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाको राजधानी प्योङयाङ भ्रमण गरी किमसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा सीले व्यापार, कृषि, निर्माण र प्रविधिका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने इच्छा व्यक्त गरेका थिए। किमले पनि चीनसँगको सम्बन्ध उत्तर कोरियाको प्रमुख रणनीतिक प्राथमिकता भएको बताएका थिए।
यसअघि किम सन् २०२५ को सेप्टेम्बरमा चीनको राजधानी बेइजिङ पुगेका थिए। उक्त भ्रमणका क्रममा उनले सी जिनपिङ, रुसी राष्ट्रपति पुटिन र अन्य विदेशी नेताहरूसँगै एक सैन्य परेडको अवलोकन गरेका थिए।