उत्तर कोरिया । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ तीव्रगतियुक्त टारपीडो परीक्षण गरेको छ। यसले कोरियाली प्रायद्वीपमा जारी हतियार प्रतिस्पर्धा थप चर्किन सक्ने सङ्केत गरेको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार बिहीबार ‘सुपर–स्पिड जाम–२.०’ नामक टारपीडोको पानीमुनि परीक्षण गरिएको हो। प्योङयाङले पछिल्लो पाँच वर्षमा यस हतियार प्रणालीको विकासका क्रममा १८० भन्दा बढी परीक्षण गरेको जनाएको छ।
विश्लेषकहरूका अनुसार युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गर्न उत्तर कोरियाले सेना पठाएबापत मस्कोबाट प्राप्त हुन सक्ने सैन्य तथा प्राविधिक सहयोगले उसको हतियार विकास कार्यक्रमलाई गति दिन सक्छ। प्योङयाङले केही दिनअघि मात्रै पनडुब्बीबाट प्रक्षेपण गरिने दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गरेको थियो।
क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलका अनुसार एआईले टारपीडोलाई वास्तविक लक्ष्य र शत्रुलाई झुक्याउन प्रयोग गरिने नक्कली लक्ष्यबीच भिन्नता छुट्याउन सहयोग गर्न सक्छ। उत्तर कोरियाले अमेरिकी रणनीतिक सैन्य साधनलाई प्रभावहीन बनाउने उद्देश्यले टारपीडो र पनडुब्बीबाट प्रक्षेपण गरिने हतियारको विकासमा लगानी बढाइरहेको उनको भनाइ छ।
यसै महिनाको सुरुमा उत्तर कोरियाले एआईको सहयोगमा मध्यम दूरीको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो। त्यसको केही दिनपछि दक्षिण कोरियाले पनि हाइपरसोनिक ग्लाइड वाहन परीक्षण गरेको थियो। ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिमा उड्न र उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रलाई पत्ता लगाउन तथा रोक्न कठिन मानिन्छ।
उत्तर कोरियाले दक्षिण कोरियाको परीक्षणमा हाइपरसोनिक उडान हासिल गर्न असफल भएको हुन सक्ने दाबी गरे पनि सियोलले त्यसलाई अस्वीकार गरेको थियो। उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा देशको हतियार प्रणालीमा एआईको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
यसैबीच, नोभेम्बरमा चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच सम्भावित भेटवार्ताको चर्चा पनि बढेको छ। सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका पूर्वअध्यक्ष याङ मू–जिनका अनुसार सम्भावित शिखर वार्ताअघि उत्तर कोरियाले दक्षिण कोरियाको तुलनामा आफ्नो हतियार कार्यक्रम बढी उन्नत रहेको देखाउन खोजेको हुन सक्छ।
यद्यपि, उत्तर कोरियाको टारपीडो प्रणालीलाई पूर्ण रूपमा विकसित गर्न अझै समय लाग्न सक्ने याङको विश्लेषण छ। पानीमुनि उच्च गतिमा सञ्चालन हुँदा टारपीडोले ठूलो आवाज उत्पन्न गर्ने भएकाले त्यसलाई पत्ता लगाउन सजिलो हुन सक्छ। यस्तो आवाज कम गर्नु प्रमुख प्राविधिक चुनौती रहेको र त्यसका लागि उन्नत प्रविधि आवश्यक पर्ने उनको भनाइ छ।