काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले राजधानी किभ र दोस्रो ठूलो सहर खार्किभका प्रमुख ऊर्जा तथा संवेदनशील पूर्वाधारलाई निशाना बनाएर रातभर भीषण हवाई आक्रमण गरेको आरोप लगाएका छन् ।
जेलेन्स्कीका अनुसार रुसी सेनाले ३९ वटा ब्यालिस्टिक मिसाइल र १२० भन्दा बढी आक्रमणकारी ड्रोनसहित विभिन्न हतियार प्रयोग गरी आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा पूर्वाधारलाई निशाना नबनाउने गरी ‘ऊर्जा युद्धविराम’ घोषणा गरेको समयमा आक्रमण भएको उनले बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै जेलेन्स्कीले अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामको रूसले उल्लङ्घन गरेको आरोप लगाएका छन् । उनका अनुसार युद्धविरामको दायरामा पर्ने ऊर्जा पूर्वाधारलाई नै ब्यालिस्टिक मिसाइलबाट निशाना बनाइएको थियो ।
आक्रमणका कारण कम्तीमा ६ लाख नागरिक विद्युत् सेवाबाट वञ्चित भएको र प्रभावितको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ । युक्रेनको ऊर्जा क्षेत्रका २६ वटा तथा तेल र ग्यास क्षेत्रका चारवटा गरी कुल ३० वटा पूर्वाधार तथा उपकरणमा गम्भीर क्षति पुगेको जनाइएको छ ।
जेलेन्स्कीले अमेरिका, युरोप र अन्य सहयोगी राष्ट्रलाई रूसको आक्रमणविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । उनले युक्रेनलाई रूसको आक्रमणको सामना गर्न एक्लै नछाड्न र सहयोगी राष्ट्रहरूले यस घटनाको ठोस जवाफ दिनुपर्ने बताएका छन् ।
यस घटनाले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने प्रयासको प्रभावकारितामाथि प्रश्न उठाएको छ । साथै, रूस र अमेरिकाबीचको कूटनीतिक संवाद तथा रूस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा थप चुनौती उत्पन्न हुन सक्ने देखिएको छ ।