उत्तराखण्डको जोशीमठ नजिकै तीर्थालु सवार हेलिकप्टर दुर्घटनाग्रस्त

उत्तराखण्डको जोशीमठ नजिकै तीर्थालु सवार हेलिकप्टर दुर्घटनाग्रस्त

उत्तराखण्डको जोशीमठ नजिकै तीर्थालु सवार हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौं । भारतको उत्तरी राज्य उत्तराखण्डको चमोली जिल्लास्थित जोशीमठ नजिकै छ जना सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

बद्रीनाथबाट उडान भरेलगत्तै सम्पर्कविहीन भएको हेलिकप्टरमा पाँच जना तीर्थालु र एक जना पाइलट सवार थिए।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार हेलिकप्टर दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोली परिचालन गरिएको छ।

भारी वर्षा, बाक्लो कुहिरो र कमजोर दृश्यताका कारण उक्त क्षेत्रमा हवाई उडानका लागि प्रतिकूल अवस्था रहेको थियो। भारतको मौसम विभागले यसअघि नै सो क्षेत्रमा मेघगर्जन, असिना र तीव्र हावाहुरीको चेतावनी जारी गरेको थियो।

दुर्गम पहाडी भूभाग र निरन्तरको वर्षाका बीच जिल्ला प्रशासन, जिल्ला आपत्कालीन व्यवस्थापन विभाग तथा राज्य आपत्कालीन प्रतिक्रिया बल (एसडीआरएफ) को संयुक्त टोली उद्धार कार्यमा खटिएको छ।

मुख्यमन्त्री धामीले घटनाको निरन्तर अनुगमन भइरहेको जनाउँदै घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत अस्पताल पुर्‍याउन निर्देशन दिएका छन्।

प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण उद्धार कार्यमा चुनौती देखिए पनि सुरक्षाकर्मीहरूले अभियानलाई तीव्रता दिएका छन्।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!