इजरायलमा जसले जिते पनि प्रतिरोध जारी राख्ने हिज्बुल्लाहको घोषणा

इजरायलमा जसले जिते पनि प्रतिरोध जारी राख्ने हिज्बुल्लाहको घोषणा

काठमाडौं । इजरायलमा सम्पन्न आम निर्वाचनको नतिजापछि लेबनानको सशस्त्र समूह हिज्बुल्लाहले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । समूहका महासचिव नइम कासिमले इजरायलमा जुनसुकै पक्षले जिते पनि आफ्नो प्रतिरोध जारी रहने बताएका छन् ।

बुधबार जारी लिखित वक्तव्यमा कासिमले इजरायली निर्वाचनको परिणामले हिज्बुल्लाहको रणनीतिमा कुनै फरक नपार्ने उल्लेख गरेका छन् ।

‘इजरायलको चुनावमा जसले जिते पनि हिज्बुल्लाहले त्यसविरुद्धको प्रतिरोध जारी राख्नेछ,’ उनको भनाइ उद्धृत गर्दै बीबीसी फारसीले जनाएको छ ।

निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन सबैभन्दा ठूलो शक्तिका रूपमा देखिए पनि बहुमत प्राप्त गर्न असफल भएको समाचारमा उल्लेख छ । गादी आइजेनकोटको नेतृत्वमा रहेको मुख्य विपक्षी गठबन्धनले ४८ सिट हासिल गरेको बताइएको छ ।

कासिमले इजरायलमा कसले शासन गर्छ भन्ने विषयभन्दा आफ्नो भूमि रक्षाको विषय महत्त्वपूर्ण रहेको बताएका छन् ।

‘इजरायलमा कसले शासन गर्छ भन्ने कुराले हामीलाई कुनै फरक पार्दैन । तर, इजरायलले कब्जा जारी राख्न पाउनेछैन र उसले हाम्रो भूमि छाड्नुपर्नेछ,’ उनले वक्तव्यमा भनेका छन् ।

हिज्बुल्लाहले इजरायलविरुद्ध प्रतिरोध जारी राख्ने घोषणा गरेसँगै दुई पक्षबीचको तनाव र क्षेत्रीय सुरक्षाको विषय पुनः चर्चामा आएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!