अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुग्यो

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुग्यो

क्यानबेरा । अस्ट्रेलियामा सन् २०२६ को सेप्टेम्बरमा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार उक्त महिनामा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगारको सङ्ख्या नौ हजारले बढेको छ ।

एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार कुल जनसङ्ख्यामा रोजगारीमा रहेका व्यक्तिको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.६ प्रतिशतमा झरेको छ । त्यस्तै, श्रमशक्तिमा सहभागिता दर ०.२ प्रतिशत विन्दुले घटेर ६६.८ प्रतिशत कायम भएको छ ।

थप काम गर्न चाहने र काम गर्न उपलब्ध भए पनि पर्याप्त कामको समय नपाएका व्यक्तिको अवस्थालाई जनाउने अल्परोजगारी दर ०.१ प्रतिशत विन्दुले बढेर ६.३ प्रतिशत पुगेको छ ।

सेप्टेम्बरमा आंशिक समय काम गर्ने व्यक्तिहरूको कुल कार्यघण्टा १.५ प्रतिशतले घटेको छ भने पूर्णकालीन काम गर्नेहरूको कार्यघण्टा ०.४ प्रतिशतले बढेको क्रिकले बताएका छन् ।

यद्यपि, श्रम बजारको वास्तविक प्रवृत्ति आकलन गर्न एबीएसले सिफारिस गर्ने प्रवृत्तिगत तथ्याङ्कमा भने बेरोजगारी दर ४.६ प्रतिशतमा स्थिर रहेको छ । यस अवधिमा प्रवृत्तिगत रोजगारी ०.१ प्रतिशतले बढेको छ भने कुल कार्यघण्टा स्थिर रहेको छ ।

एबीएसका अनुसार वार्षिक आधारमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या १.२ प्रतिशतले र कुल कार्यघण्टा १.३ प्रतिशतले बढेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!