अमेरिकी विदेशमन्त्री रुबियो अक्टोबर १७ देखि भारत र उज्बेकिस्तान भ्रमणमा जाने

अमेरिकी विदेशमन्त्री रुबियो अक्टोबर १७ देखि भारत र उज्बेकिस्तान भ्रमणमा जाने

काठमाडौं। अमेरिकी विदेशमन्त्री मार्को रुबियो अक्टोबर १७ देखि २२ सम्म उज्बेकिस्तान र भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। अमेरिकी विदेश मन्त्रालयले आधिकारिक वक्तव्यमार्फत उनको भ्रमणबारे जानकारी दिएको हो।

यस वर्ष रुबियोको भारत भ्रमण दोस्रो पटक हुन लागेको हो। भारत भ्रमणका क्रममा उनले मुम्बई र जामनगरको भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

विदेश मन्त्रालयका अनुसार रुबियो उज्बेकिस्तानमा आयोजना हुने सी५+१ मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन्। बैठकको उद्देश्य अमेरिका र मध्य एसियाली मुलुकहरूबीच रणनीतिक सहयोग सुदृढ गर्दै क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धन गर्नु रहेको छ।

भ्रमणका क्रममा रुबियोले सी५ समूहमा आबद्ध पाँच मध्य एसियाली राष्ट्र—उज्बेकिस्तान, काजाकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र किर्गिस्तानका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गर्नेछन्।

मध्य एसियाको भ्रमणपछि भारत पुग्ने रुबियोले भारतीय सरकारका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। त्यस क्रममा अमेरिका–भारत रणनीतिक साझेदारी, क्षेत्रीय तथा विश्वव्यापी भूराजनीतिक घटनाक्रम र ऊर्जा सहकार्य विस्तारका सम्भावनाबारे छलफल हुने बताइएको छ।

रुबियोले भारतका प्रमुख उद्योगी तथा व्यापारिक नेताहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ। यसबाट दुवै देशबीच आर्थिक सहकार्य विस्तार तथा व्यापार र लगानीका नयाँ अवसर खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!