वासिङ्टन डीसी । अमेरिकाले आगामी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध थप सैन्य कारबाही हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मध्यपूर्वका खाडी मुलुकहरूलाई सतर्क रहन आग्रह गरेको छ । यसबारे जानकार स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी अखबार द वाल स्ट्रिट जर्नल ले समाचार प्रकाशित गरेको छ ।
समाचारअनुसार अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको सैन्य कारबाहीका लागि रणनीति तयार पारिरहेका छन् । मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले गोलाबारुद तथा सैन्य सामग्रीको भण्डार बढाउँदै लगेको छ भने सम्भावित आक्रमणका लागि बमवर्षक र अत्याधुनिक लडाकु विमानलाई तयारी अवस्थामा राखिएको जनाइएको छ । इजरायलले पनि सम्भावित आक्रमणका लागि सैन्य योजना तयार पार्दै प्रमुख लक्ष्यहरू पहिचान गरेको समाचारमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही गर्नेबारे अन्तिम निर्णय गरिनसकेको भए पनि इरानका महत्त्वपूर्ण पूर्वाधार तथा आणविक केन्द्रलाई लक्षित गरी ठूलो स्तरमा हवाई र क्षेप्यास्त्र आक्रमण गर्ने विकल्पमाथि तयारी भइरहेको बताइएको छ ।
यसअघि ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुन सक्ने सम्भावना व्यक्त गर्दै सम्झौता नभए पुनः बमबारी अभियान सुरु हुन सक्ने सङ्केत दिएका थिए । उनले नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगरिने स्पष्ट पारेको समाचारमा उल्लेख छ ।
मध्यपूर्वमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत प्रभाव पारिरहेको छ । सैन्य द्वन्द्व थप चर्किएमा इन्धनको मूल्य बढ्ने र त्यसको असर विश्व अर्थतन्त्रमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । यसले अमेरिकी निर्वाचनको राजनीतिक वातावरणमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।
यसैबीच, अमेरिकाले मध्यपूर्वमा तीनवटा विमानवाहक युद्धपोत तैनाथ गरेर क्षेत्रीय सैन्य उपस्थिति बढाएको समाचारमा उल्लेख छ । निर्वाचनपछि इरानविरुद्ध थप सैन्य कारबाही हुन्छ वा कूटनीतिक प्रयासले प्राथमिकता पाउँछ भन्ने विषय भने अमेरिकी प्रशासनको अन्तिम निर्णयमा निर्भर रहनेछ ।
अमेरिका, इजरायल र इरानबीचको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था संवेदनशील बनेको छ । सम्भावित सैन्य कारबाहीले क्षेत्रीय सुरक्षाका साथै विश्वव्यापी ऊर्जा आपूर्ति र अर्थतन्त्रमा पार्न सक्ने प्रभावलाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ ।