अमेरिकाको बजेट घाटा बढेर झण्डै २ खर्ब डलर, पाँच वर्षयताकै उच्च

अमेरिकाको बजेट घाटा बढेर झण्डै २ खर्ब डलर, पाँच वर्षयताकै उच्च

वासिङ्टन डिसी । भन्सार महसुल फिर्ता गर्नुपरेको र ४० ट्रिलियन डलरभन्दा बढी राष्ट्रिय ऋणको ब्याज भुक्तानी बढेका कारण आर्थिक वर्ष २०२६ मा अमेरिकाको बजेट घाटा २१७ अर्ब डलरले बढेर झण्डै २ ट्रिलियन डलर पुगेको छ। अमेरिकी अर्थ मन्त्रालय (ट्रेजरी डिपार्टमेन्ट) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो पाँच वर्षयताकै सबैभन्दा ठूलो बजेट घाटा हो।

सामाजिक सुरक्षा, मेडिकेयरजस्ता सामाजिक कल्याणकारी कार्यक्रमको खर्चमा भएको निरन्तर वृद्धि र रक्षा खर्चमा ४८ अर्ब डलरको बढोत्तरीले पनि बजेट घाटा बढाउन भूमिका खेलेको छ। सेप्टेम्बर ३० मा समाप्त भएको आर्थिक वर्षमा अमेरिकाको बजेट घाटा १.९९ ट्रिलियन डलर पुगेको हो। यो राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो पूर्ण आर्थिक वर्ष हो।

आर्थिक वर्ष २०२५ मा अमेरिकाको बजेट घाटा १.७८ ट्रिलियन डलर थियो। कोभिड–१९ महामारीका बेला राहत कार्यक्रमका लागि ठूलो खर्च गरिएका कारण आर्थिक वर्ष २०२१ मा २.७७ ट्रिलियन डलर घाटा भएको थियो। त्यसपछिको यो सबैभन्दा ठूलो घाटा हो भने अमेरिकी इतिहासमा तेस्रो ठूलो वार्षिक बजेट घाटा हो।

आर्थिक वर्ष २०२६ मा अमेरिकाको कुल राजस्व सङ्कलन बढेर कीर्तिमानी ५.४० ट्रिलियन डलर पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको ५.२४ ट्रिलियन डलरभन्दा १६९ अर्ब डलर अर्थात् करिब ३ प्रतिशत बढी हो। तर, सोही अवधिमा सरकारी खर्च पनि बढेर कीर्तिमानी ७.४० ट्रिलियन डलर पुगेको छ। अघिल्लो वर्षको ७.०१ ट्रिलियन डलरको तुलनामा यो ३८६ अर्ब डलर अर्थात् करिब ६ प्रतिशतको वृद्धि हो।

अमेरिकी राष्ट्रिय ऋणको ब्याज भुक्तानीमा मात्रै १.३६ ट्रिलियन डलर खर्च भएको छ। यो अघिल्लो वर्षको तुलनामा १४४ अर्ब डलर अर्थात् १२ प्रतिशत बढी हो। ब्याज भुक्तानी अहिले सामाजिक सुरक्षा र मेडिकेयर तथा मेडिकल सहायतामा हुने संयुक्त खर्चपछि संघीय सरकारको दोस्रो ठूलो खर्च शीर्षक बनेको छ। करिब दुई महिनाअघि अमेरिकाको कुल राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघेको थियो।

बजेट घाटा बढ्नुको अर्को कारण खुद भन्सार महसुल आम्दानीमा आएको गिरावट हो। अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको पहिलो कार्यकालमा लगाइएका भन्सार महसुलको ठूलो हिस्सा खारेज गरेपछि सरकारले यस वर्ष १४५ अर्ब डलर फिर्ता गर्नुपरेको थियो। त्यसका कारण खुद भन्सार महसुल आम्दानी २२ अर्ब डलरले घटेर करिब १७३ अर्ब डलरमा सीमित भएको छ। यो अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत कम हो।

यसैबीच, अमेरिकाको वार्षिक रक्षा खर्च ६ प्रतिशतले बढेर ९१७ अर्ब डलर पुगेको छ। अमेरिकी अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार यस वर्षको सुरुआतमा राष्ट्रपति ट्रम्प र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धका कारण रक्षा खर्चमा कति वृद्धि भयो भन्ने स्पष्ट भइसकेको छैन।

अर्थ मन्त्रालयका अधिकारीले आर्थिक वर्ष २०२६ मा बजेट घाटा र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात ६.२ प्रतिशत रहने अनुमान गरेका छन्। यो आर्थिक वर्ष २०२५ मा रहेको ५.८ प्रतिशतको वास्तविक अनुपातभन्दा बढी हो। यद्यपि, उक्त अनुमानका लागि प्रयोग गरिएको जीडीपीको आधारबारे अधिकारीले खुलाएका छैनन्।

आर्थिक वर्ष २०२६ को अन्तिम महिना सेप्टेम्बरमा मात्रै अमेरिकाले २७ अर्ब डलर बजेट घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही महिनामा भने १९८ अर्ब डलर बजेट बचत रहेको थियो। राजस्व बढे पनि सरकारी खर्च र ऋणको ब्याज भुक्तानी तीव्र रूपमा बढ्दा अमेरिकी बजेटमाथि दबाब थपिएको देखिन्छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!