अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा झडप, सात पाकिस्तानी सैनिक मारिएको दाबी

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा झडप, सात पाकिस्तानी सैनिक मारिएको दाबी

काठमाडौँ । अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सुरक्षा बलबिच सशस्त्र झडप भएको छ। घटनाबारे दुवै पक्षले फरक–फरक दाबी गरेका छन्।

अफगानिस्तानको सरकारी समाचार संस्था बख्तर न्युज एजेन्सीका अनुसार पक्तिया प्रान्तमा अफगान सुरक्षा बल र पाकिस्तानी सेनाबिच घण्टौँसम्म भिडन्त भएको थियो। तालिबान सरकारका स्रोतलाई उद्धृत गर्दै बख्तरले उक्त झडपमा सात पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ। यद्यपि, यस दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

अर्कोतर्फ, रेडियो पाकिस्तानले सुरक्षा स्रोतलाई उद्धृत गर्दै खैबर पख्तुनख्वा प्रान्तको अपर कुर्रम क्षेत्रमा अफगान तालिबान सुरक्षा बलले गरेको गोलीबारीको पाकिस्तानी सेनाले कडा जवाफ दिएको जनाएको छ।

तालिबान सरकारका सुरक्षा स्रोतहरूले बीबीसी पश्तोसँग कुरा गर्दै आफ्ना सैनिक तथा सीमा सुरक्षाकर्मी र पाकिस्तानी सेनाबिच झडप भएको पुष्टि गरेका छन्। बीबीसी पश्तोले प्राप्त गरेको एउटा भिडियोमा तालिबान सुरक्षा बलले सीमापारि रहेका पाकिस्तानी सेनालाई लक्षित गरी रकेट तथा तोप प्रहार गरिरहेको देखिएको जनाइएको छ।

यसअघि गत अक्टोबर १ मा पाकिस्तान सरकारले अफगानिस्तानका ११ जना कथित विद्रोही मारिएको दाबी गरेको थियो। तर, अफगान तालिबान अधिकारीहरूले उक्त दाबी अस्वीकार गर्दै कुनार र हेल्मन्द प्रान्तमा सर्वसाधारणका घरमा गरिएको बमबारीमा नौ जना नागरिक मारिएको आरोप लगाएका थिए।

पछिल्लो एक वर्षयता अफगानिस्तान र पाकिस्तानबिच पटक–पटक सशस्त्र झडप तथा आक्रमणका घटना हुँदै आएका छन्। बढ्दो तनावका कारण पाकिस्तानले अफगानिस्तानसँगका सबै व्यापारिक नाकासमेत बन्द गरेको थियो।

दुई देशबिचको सीमा विवाद, सुरक्षा चुनौती र एकअर्कामाथि लगाइँदै आएका आरोपका कारण द्विपक्षीय सम्बन्ध तनावपूर्ण रहँदै आएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!