अनधिकृत रूपमा बढी भाडा असुले कारबाही गर्ने बुध्द एयरको चेतावनी

अनधिकृत रूपमा बढी भाडा असुले कारबाही गर्ने बुध्द एयरको चेतावनी

काठमाडौँ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप तथा एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट र सामग्रीमार्फत हवाई भाडादरबारे भ्रम फैलाइएको भन्दै बुध्द एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुध्द एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत विशेषगरी धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइरहेकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।

रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समयसम्म सडक यातायात अवरुद्ध भएको थियो। उक्त विपद्को अवस्थामा यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले सडक यातायात सहज नहुन्जेल तथा दसैँ–तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरी सोहीअनुसार कार्यान्वयन गर्दै आएको कम्पनीले जनाएको छ।

बुध्द एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरभन्दा बढी मूल्यमा कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट अनधिकृत रूपमा टिकट बिक्री गरेको पाइएमा त्यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।

कम्पनीले यात्रुलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट प्रसारित भ्रामक सूचना तथा स्क्रिनसटको आधारमा हवाई भाडासम्बन्धी धारणा नबनाउन आग्रह गरेको छ। भाडादर तथा टिकटसम्बन्धी जानकारीका लागि बुध्द एयरका आधिकारिक बिक्री माध्यम, वेबसाइट तथा मोबाइल एपबाट मात्र जानकारी लिन कम्पनीले अनुरोध गरेको छ।

कम्पनीका अनुसार अहिले काठमाडौँबाट बाहिरिने यात्रुको संख्या बढी र काठमाडौँ भित्रिने यात्रुको संख्या तुलनात्मक रूपमा कम रहेको छ। काठमाडौँ आउने यात्रुका लागि बुध्द एयरले प्रोमो कोडमार्फत न्यूनतम भाडादरमा विभिन्न अफरसमेत उपलब्ध गराएको जनाएको छ। उक्त अफर कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत लिन सकिनेछ।

बुध्द एयरले विपद्को यस कठिन अवस्थामा यात्रु तथा आम नागरिकलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!