अजरबैजानमा विद्यालयमा हिजाब प्रतिबन्धपछि देशव्यापी विरोध प्रदर्शन

अजरबैजानमा विद्यालयमा हिजाब प्रतिबन्धपछि देशव्यापी विरोध प्रदर्शन

काठमाडौं। मध्य एसियाली मुस्लिम बहुल मुलुक अजरबैजानमा सरकारी विद्यालयमा हिजाब लगाउन लगाइएको प्रतिबन्धपछि देशव्यापी विवाद र विरोध प्रदर्शन चर्किएको छ। नयाँ पोसाक नियमका कारण छात्रा तथा महिला शिक्षिकाहरू प्रभावित भएपछि धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्ष शिक्षाबीचको बहस तीव्र बनेको हो।

अजरबैजानको करिब ९६ प्रतिशत जनसङ्ख्या मुस्लिम धर्मावलम्बी रहेको बताइन्छ। तर सरकारले संविधानमा उल्लेखित धर्मनिरपेक्ष व्यवस्थालाई आधार बनाउँदै सरकारी विद्यालयमा निर्धारित पोसाकबाहेकका धार्मिक पहिरन लगाउन रोक लगाएको छ।

गत सेप्टेम्बर २१ मा अजरबैजानको मन्त्रिपरिषद्ले सरकारी विद्यालयमा एकरूपता कायम गर्ने उद्देश्यसहित नयाँ पोसाक नियम पारित गरेको थियो। त्यसैगरी, अक्टोबर ६ मा महिला शिक्षिकाका लागि समेत नयाँ पोसाकसम्बन्धी नियम स्वीकृत गरिएपछि हिजाब लगाउने शिक्षिकाहरूलाई टाउको ढाक्ने कपडा हटाउन दबाब दिइएको जनाइएको छ।

नयाँ नियम लागू भएपछि हिजाब लगाएर विद्यालय पुगेका छात्रालाई प्रवेश गर्न नदिइएको घटनाले तनाव बढाएको छ। राजधानी बाकु र मसल्ली जिल्लाका विभिन्न विद्यालयमा हिजाब लगाएका छात्रालाई कक्षामा प्रवेश गर्न रोक लगाएपछि उनीहरूको समर्थनमा अन्य छात्राहरूले समेत कक्षा बहिष्कार गरेका छन्।

विरोधमा उत्रिएका छात्राहरूले सडकमा बसेर पढाइ सुरु गरेका छन्। उनीहरूले ‘हिजाब शिक्षामा बाधा होइन’ भन्ने नारासहितका पोस्टर प्रदर्शन गरेका छन्। सामाजिक सञ्जालमा छात्रा तथा शिक्षिकाहरू भावुक बनेका भिडियोसमेत सार्वजनिक भएका छन्।

अक्टोबर १२ मा अजरबैजानको गृह मन्त्रालयले विद्यालयको पोसाकसम्बन्धी नियम कार्यान्वयनका क्रममा ३७ जना पक्राउ परेको पुष्टि गरेको जनाइएको छ। सरकारी अधिकारीहरूका अनुसार पक्राउ परेकाहरूमाथि शैक्षिक कर्मचारीसँग झडप गरेको, विद्यालय भवनमा तोडफोड गरेको र यातायात अवरुद्ध पारेको आरोप छ।

अजरबैजानको संविधानको धारा ७ ले देशलाई धर्मनिरपेक्ष गणराज्यका रूपमा परिभाषित गरेको छ भने धारा १८ ले धर्म र राज्यबीचको पृथकता तथा धर्मनिरपेक्षताको सिद्धान्तलाई समेटेको छ।

विद्यालयमा हिजाबसम्बन्धी विवाद अजरबैजानका लागि नयाँ भने होइन। यसअघि सन् २०१० को डिसेम्बरमा पनि शिक्षा मन्त्रालयले हिजाबमा प्रतिबन्ध लगाउने प्रयास गरेपछि व्यापक विरोध प्रदर्शन भएको थियो।

पछिल्लो घटनाले अजरबैजानमा धर्मनिरपेक्ष शिक्षा प्रणाली, धार्मिक स्वतन्त्रता र शिक्षाको अधिकारबीचको सन्तुलनबारे बहसलाई पुनः चर्काएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!