सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो

सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो

काठमाडौं । लगातार दुई संस्करणमा उपविजेतामा सीमित बनेको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो।

यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै अघिल्ला हारको निराशा अन्त्य गरेको छ।

टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा सीमित गरेको थियो।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र दिलिप नाथले समान ३० रन बनाए। निरोशन डिक्वेल्लाले २८ तथा डी आर्की शर्टले २१ रनको योगदान दिए। सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने थरिन्दु रथ्नायके, हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले आक्रामक ब्याटिङ गर्दै सहज जित हासिल गर्‍यो। ओपनर जर्ज मुन्सीले ५४ बलमा १२५ रनको अविजित शतकीय पारी खेले। उनले पारीमा १२ छक्का र आठ चौका प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले ३० रन बनाए।

सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्दै १० विकेटको शानदार जित निकाल्यो।

उपाधि जितसँगै सुदूरपश्चिमले नगद एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ प्राप्त गरेको छ।

 
 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!