प्रधानमन्त्री बालेन शाह भोलि भारत भ्रमणमा जाँदै, दिल्लीमा स्वागतको तयारी भव्य

प्रधानमन्त्री बालेन शाह भोलि भारत भ्रमणमा जाँदै, दिल्लीमा स्वागतको तयारी भव्य

नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुई दिने औपचारिक भारत भ्रमणका लागि भोलि (आइतबार) भारतको राजधानी नयाँदिल्ली जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय विदेश भ्रमण हो।

प्रधानमन्त्री शाहको भ्रमणलाई छोटो तर परिणाममुखी बनाउने तयारी भइरहेका बेला नयाँदिल्लीमा स्वागतका लागि विशेष तयारी गरिएको छ। दिल्लीका मुख्य सडक, चोक तथा विमानस्थल आसपास नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन् भने विभिन्न स्थानमा स्वागत द्वार तथा पोस्टरहरू सजाइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्। दिल्ली पुगेपछि आइतबार साँझ ६ बजे होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक गार्ड अफ अनर प्रदान गरी स्वागत गरिनेछ। त्यसपछि उहाँ राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ।

सोमबार नै हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै तथा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि मोदीले नेपाली समकक्षीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।

सोमबार अपराह्न ३:१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसपछि उहाँ साँझ ४:५० बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक साझेदारी र विकासका क्षेत्रमा ठोस सहमति जुटाउने लक्ष्य राखिएको छ।

उच्चस्तरीय वार्तामा सीमापार सडक तथा डिजिटल कनेक्टिभिटी विस्तार, ऊर्जा सहकार्य, जलविद्युत् विकास, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार तथा व्यापार घाटा न्यूनीकरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, अयोध्या–जनकपुर रेलसेवाको औपचारिक उद्घाटन तथा विभिन्न विकास परियोजनासम्बन्धी विषयले पनि प्राथमिकता पाउनेछन्।

युवा उद्यमशीलता, सूचना प्रविधि, नवप्रवर्तन र खेलकुदको विकासमा सहकार्य विस्तार गर्ने विषयलाई पनि भ्रमणमा महत्त्व दिइनेछ। विभिन्न क्षेत्रमा सहकार्य विस्तारका लागि समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत रहेको छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत जानेछ।

नेपाल–भारत बिजनेस फोरममा सहभागी हुन तथा दुई देशका निजी क्षेत्रबीच व्यावसायिक साझेदारी विस्तार गर्ने उद्देश्यले ५२ सदस्यीय नेपाली व्यवसायीको टोली र विभिन्न सञ्चारमाध्यमका २६ जना पत्रकार पनि आफ्नै खर्चमा नयाँदिल्ली जानेछन्।

युवा नेतृत्वको सरकार गठनपछि हुन लागेको यस उच्चस्तरीय भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!