एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि भिडन्तमा आज (शनिबार) साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ भने लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधि उचाल्ने दाउमा मैदान उत्रँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनलअघि शुक्रबार आयोजित प्रिम्याच पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन् ।

लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र रणनीतिक अभ्यासपछि आफ्नो टोली फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताए । पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको लुम्बिनीले पाएको तीन दिनको विश्राममध्ये दुई दिन शारीरिक आराम र एक दिन अभ्यासमा बिताएको उनले जानकारी दिए ।

लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा पुगेको र जितको लय कायम राखेको भए पनि फाइनलको दबाब फरक हुने पौडेलको बुझाइ छ । “क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल हो, त्यसैले विगतको लयले मात्र नतिजा दिँदैन । उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन नै गर्नुपर्छ,” उनले भने ।

एनपीएलको इतिहासमा सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेलमा लगातार जित निकालेको भए पनि प्रतिद्वन्द्वीलाई कमजोर आँक्न नहुने पौडेलले स्पष्ट पारे । लगातार दोस्रोपटक कप्तानका रूपमा उपाधि जित्ने अवसरलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण टोलीको मिहिनेत र सफलताका रूपमा लिएको उनले बताए ।

यता, पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गरेको सुदूरपश्चिम रोयल्स उच्च मनोबलमा छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो क्वालिफायरमा लुम्बिनीसँग व्यहोरेको हारको बदला लिँदै यसपटक उपाधि जित्ने मुख्य लक्ष्य रहेको बताए । उनले लुम्बिनीको सन्तुलित र बलियो बलिङ आक्रमणलाई फाइनलको मुख्य चुनौतीका रूपमा लिएको उल्लेख गरे ।

फाइनलका लागि टोलीको तयारी राम्रो भइरहेको बताउँदै ऐरीले लुम्बिनीको बलिङ आक्रमणलाई निस्तेज पार्ने रणनीतिमा विशेष ध्यान दिइएको जानकारी दिए । जारी प्रतियोगिताभर विभिन्न कारणले विदेशी खेलाडी आउने र जाने क्रम चलिरहँदा टोलीको सन्तुलन र संयोजनमा केही परिवर्तन गर्नुपरेको उनले स्वीकारे ।

विदेशी खेलाडी बाहिरिँदा नयाँ खेलाडी भित्र्याउनुपर्ने बाध्यताले ब्याटिङ क्रम व्यवस्थापनमा केही चुनौती थपिए पनि फाइनलमा नेपाली तथा विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा उनी विश्वस्त देखिए ।

एनपीएलको पहिलो र दोस्रो दुवै संस्करणको फाइनलमा पुगेर पनि उपविजेतामै सीमित हुनुपरेको पीडा भुलाउन सुदूरपश्चिम आतुर छ । उता, घरेलु क्रिकेटका दुई प्रभावशाली कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीबीचको रणनीतिक भिडन्तले आजको फाइनल थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । दुवै टोलीमा राष्ट्रिय टोलीका स्टार खेलाडीहरूको बाहुल्यता रहेकाले कीर्तिपुर मैदानमा दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।

 
 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!