एनपिएल फाइनलको टिकट बिक्री खुला भएको केही मिनेटमै सोल्डआउट

एनपिएल फाइनलको टिकट बिक्री खुला भएको केही मिनेटमै सोल्डआउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलका सबै टिकट बिक्री खुला भएको केही मिनेटमै सकिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार सूचना जारी गर्दै फाइनल खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी दिएको हो ।

क्यानका सचिव पारस खड्काका अनुसार शनिबार हुने फाइनल खेलको टिकट बिक्री खुला गर्दा करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्ने प्रयास गरेका थिए । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको उनले बताए ।

नेपाली क्रिकेट र नेपाल प्रिमियर लिगप्रति दर्शकले देखाएको अपार माया, साथ र उत्साहप्रति क्यानले आभार व्यक्त गरेको छ । साथै, टिकट खरिद गर्न नपाएका दर्शकलाई परेको असुविधाप्रति क्षमायाचना गरेको छ ।

टिकट पाउन नसकेका समर्थकलाई अनलाइन तथा आधिकारिक प्रसारण माध्यमबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर सहयोग गर्न पनि क्यानले अनुरोध गरेको छ ।

यस संस्करणको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!