बालेनको भारत भ्रमणप्रति भारतीय सञ्चारकर्मीको चासो, सम्बन्ध सुधारदेखि सीमा सहजीकरणसम्मका सुझाव

बालेनको भारत भ्रमणप्रति भारतीय सञ्चारकर्मीको चासो, सम्बन्ध सुधारदेखि सीमा सहजीकरणसम्मका सुझाव

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणलाई नेपालमा मात्र नभई भारतमा पनि चासोका साथ हेरिएको छ । भारतीय वरिष्ठ सञ्चारकर्मी तथा पत्रकारहरूले नेपाली प्रधानमन्त्रीको भ्रमणलाई महत्त्व दिँदै यसबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन् ।

मंसिर ६ गते दुई दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहको भ्रमणबारे नेपाल न्युज बैंकसँग कुरा गर्दै भारतीय पत्रकारहरूले भ्रमण दुवै देशका लागि उपलब्धिमूलक हुनुपर्ने बताएका छन् । उनीहरूले नेपाल–भारत सम्बन्धलाई प्रायः ‘रोटी–बेटी’ को सम्बन्धका रूपमा व्याख्या गर्दै यसलाई थप सुदृढ बनाउन भ्रमण केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

भारतीय पत्रकारहरूका अनुसार प्रधानमन्त्रीको भ्रमण राजनीतिक र कूटनीतिक औपचारिकतामा मात्र सीमित नभई व्यावहारिक उपलब्धि हासिल गर्ने अवसर बन्नुपर्छ ।

भारतीय पत्रकार युनियनका अध्यक्ष, प्रेस काउन्सिल अफ इन्डियाका सदस्य तथा आसामको गुवाहाटीमा रहेर पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार गीतार्थ पाठकले प्रधानमन्त्री बालेनको भ्रमण कूटनीतिक औपचारिकतामा मात्र सीमित हुन नहुने बताए । उनका अनुसार दुई निकट छिमेकी मुलुकबीचको सम्बन्ध आपसी संवेदनशीलता, रचनात्मक संवाद र साझा समृद्धिका लागि इमानदार प्रतिबद्धताबाट मात्र सुदृढ हुन सक्छ ।

त्यस्तै, नयाँ दिल्लीमा रहेर लामो समयदेखि वैदेशिक मामिलामा रिपोर्टिङ गर्दै आएका स्वतन्त्र वरिष्ठ पत्रकार उमाशंकर सिंहले अहिले भारत र नेपालबीचको सम्बन्ध आपसी विश्वासको संकटबाट गुज्रिरहेको बताए । उनले प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारमा सहजीकरण गर्ने अपेक्षा व्यक्त गरे ।

बिहारको मुजफ्फरपुरमा केन्द्रित वरिष्ठ पत्रकार तथा नेपाली र भारतीय पत्रकारहरूको साझा संस्था मिडिया फर बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारीले भारत–नेपाल सीमामा शताब्दीयौँदेखि चल्दै आएको ‘छोटी भन्सार’ व्यवस्था पुनः सक्रिय गर्नुपर्ने सुझाव दिए । यसबाट साना व्यापारी र सर्वसाधारणको आवतजावत सहज हुनुका साथै सीमावर्ती क्षेत्रमा रोजगारीका अवसर बढ्ने उनको भनाइ छ ।

त्यस्तै, उत्तराखण्डको पिथौरागढमा केन्द्रित वरिष्ठ पत्रकार तथा दैनिक भास्करका जिल्ला प्रभारी राजेश पंगरियाले प्रधानमन्त्री बालेनको भ्रमणको लाभ सीमावर्ती क्षेत्रका आम नागरिकसम्म पुग्नुपर्ने बताए ।

पश्चिम बंगालको कोलकातामा रहेर पत्रकारिता गर्दै आएकी दार्जिलिङ टुडेकी सम्पादक इन्द्राणी दास गुप्ताले पनि प्रधानमन्त्रीको भ्रमण नेपाल र भारत दुवै देशका जनताका लागि ठूलो अपेक्षाको विषय बनेको बताइन् ।

वरिष्ठ पत्रकार गीतार्थ पाठकसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाल र भारतबीच आर्थिक विकास, जलविद्युत्, ऊर्जा व्यापार, पूर्वाधार, सडक तथा रेल सञ्जाल, पर्यटन, शिक्षा र प्रविधिका क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना छन् । संयुक्त सैन्य अभ्यास, सीमा व्यवस्थापन र जनस्तरको आदानप्रदानलगायत रक्षा तथा सुरक्षासम्बन्धी सहकार्यमा पनि विशेष ध्यान दिनुपर्छ । सांस्कृतिक आदानप्रदानले दुई देशका समाजबीचको परम्परागत सम्बन्धलाई अझ सुदृढ बनाउन सक्छ ।

यसैगरी, दुवै मुलुकले विद्यमान समस्याहरूलाई सम्बोधन गर्नुपर्छ । विशेषगरी कालापानी–लिम्पियाधुरा र सुस्तासम्बन्धी सीमा विवाद, नेपालको व्यापार असन्तुलन, पारवहन तथा हवाई सम्पर्कसम्बन्धी विषय र अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई प्राथमिकतामा राख्नुपर्छ ।

विकाससम्बन्धी बाँकी प्रतिबद्धता पूरा गर्न तीव्रता दिनु र बाढीपछिको पुनर्निर्माणमा भारतले सहयोग पुर्‍याउनु पनि तत्कालका प्राथमिकता हुनुपर्छ । यो भ्रमण कूटनीतिक औपचारिकतामा मात्र सीमित रहनु हुँदैन । यसबाट ठोस नतिजा निस्कनुपर्छ । दुई निकट छिमेकी मुलुकबीचको सम्बन्ध आपसी संवेदनशीलता, रचनात्मक संवाद र साझा समृद्धिका लागि इमानदार प्रतिबद्धतामार्फत मात्र फस्टाउन सक्छ ।

वरिष्ठ पत्रकार उमाशंकर सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :

भारत र नेपालबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहिआएको छ । परम्परागत राजनीतिक व्यवस्थाअन्तर्गत नेपालका पुराना प्रधानमन्त्रीहरूको भारत भ्रमणलाई सामान्य द्विपक्षीय भ्रमणका रूपमा लिने गरिन्थ्यो । तर यसपटक प्रधानमन्त्री बालेन शाहको भ्रमणले निकै चर्चा बटुलिरहेको छ ।

यसको मुख्य कारण अहिले भारत र नेपालबीचको सम्बन्ध आपसी विश्वासको ठूलो संकटबाट गुज्रिरहेको अवस्था हो ।

‘जेन–जी’ आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री बन्नु, सुरुदेखि नै भारतसँग एक प्रकारको दूरी बनाएर हिँडेको उनको रवैया तथा भारतीय राजदूत र विदेश सचिवसँग भेटघाट गर्न अस्वीकार गरेको भन्ने खबरहरू बाहिरिनुले दुई देशबीचको विश्वासको संकट थप बढाएको देखिन्छ ।

यहाँसम्म कि भारतमा हुने युवाहरूको आन्दोलनलाई नेपालको ‘जेन–जी’ आन्दोलनसँग जोडेर हेर्दा मोदी सरकार असहज भएको देखिन्छ । यद्यपि यो छुट्टै विषय हो । काठमाडौंको मेयर रहँदा बालेन शाहले आफ्नो कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’ को नक्सालाई पनि भारतप्रति मित्रवत् संकेतका रूपमा हेरिएन । जबकि त्यो ‘अखण्ड भारत’ को नक्साको एक किसिमको जवाफ थियो ।

कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई लिएर पहिलेदेखि जारी विवाद र चीनतर्फ नेपालको झुकाव रहेको भन्ने पृष्ठभूमिले पनि अविश्वासको खाडल फराकिलो बनाएको छ ।

यद्यपि, भोटेकोशी बाढीपछि भारतले गरेको सहयोगको प्रधानमन्त्री शाहले प्रशंसा गरेपछि सम्बन्धमा जमेको बरफ केही पग्लिएको छ । अब यो भ्रमणलाई भारत–नेपाल सम्बन्धलाई पुनः सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ ।

आर्थिक प्याकेज र कनेक्टिभिटीका विषयमा दुई देशबीच कस्तो प्रगति हुन्छ भन्ने चासो छ । नेपालका लागि अतिरिक्त हवाई प्रवेश मार्गका सन्दर्भमा कस्तो सहयोग र सम्झौता हुन्छ भन्ने विषय पनि महत्त्वपूर्ण हुनेछ । समग्रमा दुई देशबीच आपसी विश्वासको पुनर्बहाली नै मजबुत द्विपक्षीय सम्बन्धका लागि सबैभन्दा आवश्यक सर्त हो ।

वरिष्ठ पत्रकार अमरेन्द्र तिवारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपालका प्रधानमन्त्री बालेन शाह छिट्टै भारत भ्रमणमा आउँदैछन् । यो भ्रमण कूटनीतिक महत्त्वको विषय मात्र नभई दुई देशका करोडौँ जनताको साझा चासोसँग जोडिएको छ । शताब्दीयौँदेखि रोटी–बेटीको सम्बन्ध राख्दै आएका भारत र नेपालले अब यसलाई अझ सहज र आधुनिक बनाउनुपर्छ ।

आज भारतको ‘फोनपे’ नेपालमा चल्छ भने नेपालको ‘नेपाल पे’ भारतमा किन नचल्ने ? नेपाल राष्ट्र बैंकले यस सुविधालाई स्वीकृति दिनुपर्छ । यसबाट व्यापार, पर्यटन र सर्वसाधारणको कारोबार सहज हुनेछ ।

भारत–नेपाल सीमामा शताब्दीयौँदेखि चल्दै आएको ‘छोटी भन्सार’ व्यवस्था पुनः सक्रिय गरिनुपर्छ । यसबाट साना व्यापारी र सर्वसाधारणलाई आवतजावतमा भइरहेको समस्या कम हुनेछ र सीमावर्ती क्षेत्रमा रोजगारी बढ्नेछ ।

नेपाल जाने भारतीय सवारीसाधनलाई कागजातमा सामान्य त्रुटि देखिँदैमा जफत गर्नुको सट्टा सम्बन्धित स्थानमै जरिवाना तिराउने व्यवस्था हुनुपर्छ । यसबाट पर्यटकमा डर होइन, विश्वास बढ्नेछ ।

भारतमा सवारी चालक अनुमतिपत्रदेखि अन्य कागजातसम्म ‘डिजिलकर’मा राखिएका कागजात मान्य छन् । यही व्यवस्था नेपालमा पनि लागू गरिनुपर्छ । यसबाट भारतबाट नेपाल जाने पर्यटकलाई कागजपत्र बोक्ने झन्झटबाट मुक्ति मिल्नेछ र पर्यटनले नयाँ उचाइ हासिल गर्नेछ । आशा छ, नेपाली प्रधानमन्त्रीको भारत भ्रमणले यस्ता साना तर महत्त्वपूर्ण परिवर्तनको सुरुवात गर्नेछ ।

वरिष्ठ पत्रकार राजेश पंगरियासँग गरिएको कुराकानीको सम्पादित अंश :

भारत र नेपालबीच शताब्दीयौँ पुरानो ‘रोटी–बेटी’ को सम्बन्ध छ । दुवै देशका नागरिकबीच सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध निकै मजबुत रहिआएको छ । तर पछिल्लो समय यी सम्बन्धमा केही दूरी देखिन थालेको छ ।

विशेषगरी सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको कडाइका कारण सर्वसाधारणको आवतजावत र आपसी मेलमिलाप प्रभावित भइरहेको छ । यस विषयमा दुवै देशका सरकारले गम्भीरतापूर्वक विचार गर्नुपर्छ । सुरक्षा व्यवस्था कायम राख्दै आम नागरिकको परम्परागत सम्बन्ध प्रभावित नहुने वातावरण बनाउनुपर्छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबाट दुवै देशको सम्बन्धले नयाँ मजबुती पाउने अपेक्षा गरिएको छ । यस क्रममा सीमावर्ती क्षेत्रको विकास र आपसी सम्पर्क विस्तारलाई प्राथमिकता दिनुपर्छ ।

विशेषगरी नेपालको सुदूरपश्चिमका जिल्लालाई भारतको कुमाउँ क्षेत्रसँग जोड्न पिथौरागढको झुलाघाटमा मोटर पुल निर्माण गर्नु आवश्यक छ । यसबाट दुवै देशबीच आवतजावत सहज हुनुका साथै व्यापारिक गतिविधिले पनि प्रोत्साहन पाउनेछ ।

त्यस्तै, दुवै देशबीचको व्यापारिक प्रक्रियालाई सरल बनाउनुपर्छ, ताकि सीमावर्ती क्षेत्रका व्यापारीले अनावश्यक झन्झट बेहोर्नु नपरोस् र कारोबार विस्तार गर्न सकून् ।

नेपालको सुदूरपश्चिम र भारतको कुमाउँ मण्डलका विभिन्न जिल्लामा पर्यटनको अपार सम्भावना छ । आदि कैलाश, मानसरोवर मार्ग, मुनस्यारी, पाताल भुवनेश्वर तथा नेपालका धार्मिक र प्राकृतिक पर्यटकीय स्थललाई जोडेर संयुक्त पर्यटन सर्किट विकास गर्न दुवै सरकारले पहल गर्नुपर्छ ।

यसबाट दुवै देशका पर्यटकको आवतजावत बढ्नेछ र स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधिले गति लिनेछन् ।

प्रधानमन्त्री शाहको भ्रमण औपचारिक भेटघाटमा मात्र सीमित हुनु हुँदैन । यसको लाभ सीमावर्ती क्षेत्रका आम नागरिकसम्म पुग्नुपर्छ । दुवै देशका सरकारले आपसी विश्वास, सहयोग र विकासलाई प्राथमिकता दिएमा शताब्दीयौँ पुरानो रोटी–बेटीको सम्बन्ध अझ मजबुत हुनेछ ।

वरिष्ठ पत्रकार इन्द्राणी दास गुप्तासँग गरिएको कुराकानीको सम्पादित अंश :

भारत र नेपाल अनादिकालदेखि नै बलियो सम्बन्धले जोडिएका छन् । यी सम्बन्धले विगतमा हामीलाई एकताबद्ध राखेका छन् र भविष्यमा पनि सधैँ बाँधिरहनेछन् ।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा आउँदैछन् । यो भ्रमण नेपाल र भारत दुवै देशका जनताका लागि ठूलो अपेक्षाको विषय बनेको छ ।

नेपालको तर्फबाट उच्चस्तरीय राजनीतिक संयन्त्रको अपेक्षा गरिएको छ, जसले लामो राजनीतिक अनिश्चितताको अन्त्य गर्दै सहज शान्ति प्रक्रियाको मार्ग प्रशस्त गर्न सक्छ । नेपाली प्रधानमन्त्रीले वार्तामार्फत गतिरोध अन्त्य गर्ने र सहमति निर्माण गर्ने काम गर्न सकेमा त्यसले महत्त्वपूर्ण उद्देश्य पूरा गर्नेछ ।

नेपालका प्रधानमन्त्रीको नोभेम्बर भ्रमणले भारतलाई आफ्नै नीति र शान्ति प्रक्रियाको प्रत्यक्ष रूपमा पुनर्मूल्याङ्कन गर्ने अवसर प्रदान गर्नेछ । अहिले नेपालप्रतिको भारतको नीति सहमति निर्माण गर्ने र ‘जेन–जी’ आन्दोलनका उद्देश्य पूरा गर्ने उपाय अवलम्बन गर्ने गरी दुई आधारस्तम्भमा आधारित हुनुपर्छ ।

आध्यात्मिक दृष्टिकोणबाट हेर्दा भारत र नेपाललाई जोड्ने अर्को साझा सूत्र बुद्ध धर्म पनि हो । बुद्ध धर्मका नैतिक मूल्य कायम राख्न तथा नेपाल र भारत दुवैका गुम्बाको विकास गर्न दुवै देशले संयुक्त रूपमा काम गर्नुपर्छ । नेपाली प्रधानमन्त्रीले बुद्ध धर्मको विकासमा पनि ध्यान केन्द्रित गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

त्यस्तै, दुई देशबीच पर्वतीय पर्यटनको विकासले पनि सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत गर्नेछ ।

 
लिङ्क सफलतापूर्वक कापि गरियो!