बाँके। जिल्ला भूमि समस्या समाधान समिति बाँकेले १० भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लालपुर्जा प्राप्त गर्नेमा राप्ती सोनारी गाउँपालिका–४ का तीन भूमिहीन दलित र सात भूमिहीन सुकुम्बासी परिवार रहेका छन्। उनीहरू २०४४/४५ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका थिए।
लामो समयदेखि आफूले बसोबास गर्दै आएको जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका परिवारले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अधिकार प्राप्त गरेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। उनीहरूलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गरी भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारी लक्ष्यअनुसार लालपुर्जा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाइएको हो।