वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा सञ्चालन गरेको र नीति तथा कार्यक्रम पारित गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार मंगलबार दिउँसो करिब ५ बजे गाउँपालिका–१ स्थित आफ्नै निवासबाट ५५ वर्षीय रायलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार २०८० साल असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

उजुरीमा गाउँसभामा सहभागी नभएकी वडा सदस्यको नक्कली हस्ताक्षर प्रयोग गरी गाउँसभा सम्पन्न भएको देखाइएको र सोही आधारमा नीति तथा कार्यक्रम पारित गरिएको उल्लेख छ ।

उक्त उजुरीका आधारमा प्रहरीले सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ साल असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि रायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गाउँपालिका अध्यक्ष रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिएका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!