विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा जुटेको देउवा पक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदेखि विराटनगरमा सुरु भएको छ । नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको हो । कार्यक्रममा पार्टीका विभिन्न केन्द्रीय नेताहरूको समेत सहभागिता रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक कोइरालाले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताबारे टिप्पणी गरेनन् । उनले कोइराला निवासमा बिताएको बाल्यकालको स्मरण गर्दै राजनीतिमा सफलता हासिल गर्न निरन्तर प्रयास आवश्यक पर्ने बताए । राजनीति सधैँ सोझो बाटोमा नहिँड्ने उल्लेख गर्दै उनले निरन्तरको प्रयासले मात्रै लक्ष्यमा पुग्न सकिने धारणा राखे ।
अधिवेशनमा सहभागी देउवा पक्षीय अन्य नेताहरूले भने पार्टीको वर्तमान नेतृत्व र गगन थापा पक्षप्रति आक्रोश व्यक्त गरेका थिए । उनीहरूले गगन थापालगायतका नेताहरूले प्रायोजित रूपमा नेपाली कांग्रेसलाई अपहरण गरेको आरोप लगाए ।
अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश केन्द्रीय नेताहरूले यस्तो आरोप लगाएका थिए । कार्यक्रममा नेताहरू प्रकाशशरण महत, मोहन बस्नेत र कृष्णप्रसाद सिटौलालगायतले पार्टीको पछिल्लो राजनीतिक अवस्था र आन्तरिक विवादबारे आफ्नो धारणा राखेका थिए ।