काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न प्रदेशमा आंशिक बदली भएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोशी, मधेश र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति तथा बिहानपख तराईका भूभाग, उपत्यका र खोँचहरूका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।