काठमाडौं । नेकपा (एमाले) ले बुधबार (मंसिर २) देखि सुरु हुने दुईदिने राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र सङ्गठन परिचालनमा केन्द्रित गर्ने भएको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन गर्दै भेलालाई पूर्ण रूपमा स्थानीय निर्वाचनकेन्द्रित बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। बैठकले यसअघि मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक एक दिन अगाडि सार्दै मंसिर ४ गते बस्ने निर्णयसमेत गरेको उनले बताए।
मंसिर २ र ३ गते सञ्चालन हुने राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित पाँच जना शीर्ष नेताले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
उपमहासचिव भट्टका अनुसार अध्यक्ष ओलीले वर्तमान राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र आगामी दिनमा गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्तै, वरिष्ठ नेता भण्डारीले मुलुकको समसामयिक राजनीतिक अवस्था र पार्टीको कार्यभारसम्बन्धी कार्यपत्र पेस गर्नेछिन्।
यसैगरी, उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ ले संसदीय सङ्घर्ष र विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका काम तथा उपलब्धिको समीक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र पेस गर्ने पार्टीले जनाएको छ।
एमालेले पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्वसम्मका नेता तथा स्थानीय तहदेखि सङ्घीय संसद्सम्मका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।
भेलामा देशभरबाट ३ हजार ४ सय १४ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। भेलामा सहभागी सबैलाई आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर सुझाव अनिवार्य रूपमा लिखित रूपमा पेस गर्न भनिएको छ।