छठ पर्व सकिएसँगै मधेसमा नयाँ सरकार गठनको कसरत, जसपा नेपालको नेतृत्वमा समीकरण बनाउने प्रयास

छठ पर्व सकिएसँगै मधेसमा नयाँ सरकार गठनको कसरत, जसपा नेपालको नेतृत्वमा समीकरण बनाउने प्रयास

धनुषा । मिथिला क्षेत्रको मुख्य चाड छठ पर्वको समापनसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरू सक्रिय भएका छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि दलहरूबीच सत्ता समीकरण, सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटबारे छलफल तीव्र बनेको छ।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार गठन गर्ने प्रयास भइरहेको छ। प्रारम्भिक छलफलमा जसपा नेपालले मुख्यमन्त्री लिने र एमाले तथा नेकपाले सरकारलाई समर्थन गर्ने गरी नयाँ समीकरण निर्माण गर्ने विषयमा नेताहरूबीच संवाद अघि बढेको हो।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले गत कात्तिक २८ गते पदबाट राजीनामा दिएका थिए। एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो। आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि विश्वासको मत लिने प्रक्रियामा प्रवेश गर्नुअघि नै उनले पद त्यागेका हुन्।

मुख्यमन्त्रीको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुखले आगामी मङ्सिर ४ गते अपराह्न ४ बजेसम्मको समयसीमा निर्धारण गरेका छन्। नेकपाका नेता भरतकुमार साहले जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बताए। उनका अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परिपाटी रहेकाले जसपाका नेताको सम्भावना बलियो छ। यद्यपि पार्टीभित्र अन्य नेताहरूको पनि दाबी रहेको उनले बताए।

जसपा नेपालका नेता जीतेन्द्र सोनारले भने मुख्यमन्त्रीको उम्मेदवारबारे पार्टीभित्र औपचारिक छलफल भए पनि निष्कर्षमा पुगिनसकेको बताए। सरकार गठन र मन्त्रालय बाँडफाँटबारे अहिले नै केही भन्न नसकिने उनको भनाइ छ। सोनार यसअघि मधेस प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलका नेता थिए। लोसपा नेपाल गत पुस २७ गते जसपा नेपालमा समाहित भएको थियो।

एमाले मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले पनि नयाँ सरकार गठनका विषयमा अनौपचारिक छलफल भइरहेको बताए। उनले औपचारिक निर्णयका लागि तीन दलबीच थप छलफल आवश्यक रहेको उल्लेख गरे।

जसपा नेपालका नेता मनिषकुमार सुमनले पनि आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने परिस्थिति देखिएको बताए। प्रदेशसभामा जसपा नेपालको सिट सङ्ख्या अन्य दलको तुलनामा बढी रहेकाले सरकारको नेतृत्व उसैले लिनुपर्ने उनको भनाइ छ।

अस्थिर बन्दै मधेसको सत्ता समीकरण

प्रदेशसभाको पहिलो कार्यकालमा जसपा नेपालका नेता लालबाबु राउतले विसं २०७४ फागुन २ देखि विसं २०७९ पुस २९ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। मधेस प्रदेश स्थापनापछि पहिलो कार्यकाल उनकै नेतृत्वमा सरकार गठन भएको थियो।

प्रदेशसभाको दोस्रो निर्वाचनपछि जसपा नेपालका सरोजकुमार यादव विसं २०७९ पुस २९ गते मुख्यमन्त्री बने। तर, प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी विसं २०८१ जेठ २३ गते पदमुक्त भए। त्यसयता मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने क्रम निरन्तर रहँदै आएको छ।

सरोजकुमार यादवपछि विसं २०८१ जेठ २५ गते जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए। सिंहले विसं २०८२ असोज २८ गते राजीनामा दिएपछि तत्कालीन लोसपाका जीतेन्द्र सोनारले विसं २०८१ असोज २९ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले।

विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले सोही वर्षको कात्तिक २२ गते एक महिनाभित्रै राजीनामा दिएका थिए। त्यसपछि एमालेका सरोजकुमार यादव सोही कात्तिक २३ गते मुख्यमन्त्री बने।

उनले सोही वर्षको मङ्सिर १७ गते पनि विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि पदबाट राजीनामा दिए। त्यसपछि मङ्सिर १९ गते कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री बनेका थिए।

उनले गत कात्तिक २८ गते राजीनामा दिएसँगै प्रदेशमा पुनः नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।

१०३ सदस्यीय मधेस प्रदेशसभामा उपलब्ध दलगत विवरणअनुसार जसपा नेपालका २७, एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक–एक सिट छ।

प्रदेशसभामा दलहरूको सिट सङ्ख्या र आपसी गठबन्धनका आधारमा नयाँ सरकार गठनको समीकरण तय हुने देखिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!