सिमरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार विधि, प्रक्रिया र स्थापित पद्धतिअनुसार सञ्चालन नभई सनक र लहडका भरमा चलिरहेको आरोप लगाएका छन् ।
बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै थापाले सरकारका निर्णय र कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ कि छैन भन्ने प्रश्न गर्दै उनले सरकारका निर्णयहरू मनोमानी ढंगले भइरहेको टिप्पणी गरे ।
‘यो सरकारले ढंगले काम गरिरहेको छ ? विधिमा काम गरिरहेको छ ? छैन, यो सरकार सनकका भरमा चलिरहेको छ । लहडका भरमा चलेको छ । सनक चलेकै भरमा निर्णय भइरहेको छ,’ उनले भने ।
संसदीय व्यवस्थामा सरकार र प्रतिपक्षको आ–आफ्नै जिम्मेवारी हुने उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए । सरकारका गलत कामकारबाहीमाथि प्रश्न उठाएकै कारण आफूहरूमाथि षड्यन्त्र भइरहेको उनको दाबी थियो ।
यस्ता गतिविधिबाट कांग्रेस विचलित नहुने बताउँदै उनले सत्य र न्यायको पक्षमा उभिएर सरकारलाई खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरे । पार्टीको आधिकारिकतासम्बन्धी विषयलाई लिएर बाहिर भइरहेका चर्चाको पछि नलाग्न उनले नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाएको उल्लेख गर्दै थापाले सरकारको आन्तरिक मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे । तर, सरकारका कामकारबाही गलत भए त्यसको विरोध र निगरानी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उनको भनाइ थियो ।
उनले सरकारलाई अनावश्यक विवादमा अल्झिनुभन्दा रोजगारी सिर्जना, अर्थतन्त्र सुधार र युवालाई स्वदेशमै बस्न सक्ने वातावरण निर्माणमा ध्यान दिन सुझाव दिएका छन् । सरकारका राम्रा काम र सकारात्मक प्रस्तावमा कांग्रेसले सहयोग गर्ने पनि उनले बताए ।
यसैबीच, थापाले पार्टीलाई एकताबद्ध बनाउँदै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्ने बताएका छन् । उनले आगामी पुसको पहिलो साताभित्र जिल्ला अधिवेशन सम्पन्न गरी त्यसपछि प्रदेश अधिवेशन गर्ने तयारी रहेको जानकारी दिएका छन् । स्थानीय तहका उम्मेदवार छनोटमा क्रियाशील सदस्यलाई सहभागी गराउने र चुनावी गठबन्धन नगरी आफ्नै उम्मेदवार अघि सार्ने कांग्रेसको नीति रहेको पनि उनले बताएका छन् ।