काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसले जाति र पहाडले पार्टीको सीमाभन्दा माथि उठिसकेको बताउँदै अब नेपाली जनतालाई थप सार्वभौम बनाउनुपर्नेमा जोड दिएका छन् ।
छठ पर्वका अवसरमा पूजाआजाका लागि जनकपुरधाम पुगेका लामिछानेले जानकी मन्दिर परिसरबाट रास्वपा नेता अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्रालाई शुभकामना दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले सिंहको पदयात्राले राजनीतिक दलको घेराभन्दा माथि उठेर आपसी सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । हिमाल, पहाड र मधेसलाई जोड्ने अभियानमा सक्रिय सिंहको यो यात्राले सिङ्गो देशलाई एकताको सूत्रमा बाँध्ने उनको अपेक्षा थियो ।
पवित्र स्थल जनकपुरधाम र छठ पर्वको अवसरबाट पदयात्रा सुरु हुनुले यसको विशेष महत्व रहेको लामिछानेले बताए ।
उनले देशलाई सर्वोपरि राख्दै जाति, लिङ्ग, धर्म, सम्प्रदाय र भूगोलका सबै सीमालाई जोड्ने यस अभियानले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे ।
लामिछानेले लामो समयदेखि राजनीतिमा सक्रिय सिंहका लागि रास्वपा नै अन्तिम राजनीतिक गन्तव्य बन्ने र यसैमार्फत मुलुकले निकास पाउने विश्वाससमेत व्यक्त गरे । सो अवसरमा उनले जानकी मन्दिर परिसरमा उपस्थित भक्तजन तथा सर्वसाधारणप्रति धन्यवाद ज्ञापन गरेका थिए ।