स्थानीय निर्वाचनको तयारीमा जुट्यो आयोग, मङ्सिर ४ मा दलहरूसँग छलफल गर्ने

स्थानीय निर्वाचनको तयारीमा जुट्यो आयोग, मङ्सिर ४ मा दलहरूसँग छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारी अघि बढाएको छ । यसैक्रममा आयोगले निर्वाचनबारे छलफल गर्न विभिन्न राजनीतिक दललाई मङ्सिर ४ गते बैठकमा बोलाएको छ ।

आयोगले आज दलहरूलाई पठाएको पत्रमा आसन्न निर्वाचनका विषयमा छलफल गर्न मङ्सिर ४ गते बिहान ११ः३० बजे आयोगको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । त्यसैगरी, २०७९ मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन भएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा हुन अब करिब छ महिना बाँकी छ । नेपालको संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष निर्धारण गरेको छ ।

संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने व्यवस्था छ । साथै, त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!