बन्दीपुरमा विशाल राष्ट्रिय झण्डासहितको पार्क बनाउन देउसीभैलोबाट साढे ३ लाख सङ्कलन

बन्दीपुरमा विशाल राष्ट्रिय झण्डासहितको पार्क बनाउन देउसीभैलोबाट साढे ३ लाख सङ्कलन

तनहुँ । नेपालको राष्ट्रिय झण्डासहितको विशाल पार्क निर्माणका लागि तनहुँको बन्दीपुरमा देउसीभैलो अभियान सञ्चालन गरिएको छ। बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माणाधीन झण्डा पार्कलाई पूर्णता दिन आवश्यक रकम जुटाउने उद्देश्यले स्थानीयवासीले अभियान सञ्चालन गरेका हुन् ।

अभियानअन्तर्गत बन्दीपुरका विभिन्न स्थानमा देउसीभैलो खेलेर हालसम्म रु तीन लाख ५० हजारभन्दा बढी रकम सङ्कलन गरिएको छ । राष्ट्रिय झण्डाको महत्व र पार्क निर्माणको उद्देश्यबारे प्रचार गर्दै स्थानीयवासी बजारका विभिन्न क्षेत्रमा पुगेर सहयोग जुटाइरहेका छन् ।

झण्डा पार्क निर्माण समितिका सचिव टीकाराम गिरीले जिल्लाका विभिन्न स्थानमा पुगेर देउसीभैलो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । यसैक्रममा आज तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय झण्डा प्रदर्शनसहित देउसीभैलो खेलिएको छ ।

निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन अभियान सञ्चालन गरिएको हो ।

बन्दीपुर–१ तल्लोटारमा निर्माण भइरहेको पार्कमा ६७ फिट अग्लो स्तम्भ निर्माण गरी ४५ फिट लम्बाइ र ३० फिट चौडाइको राष्ट्रिय झण्डा फहराउने योजना छ । राष्ट्रिय गौरव र पहिचानसँग जोडिएको यस योजनालाई स्थानीयवासीले सामूहिक अभियानका रूपमा अघि बढाएका छन् ।

संयोजक रानाका अनुसार पार्क निर्माणका क्रममा हालसम्म रु १५ लाखभन्दा बढी मूल्य बराबरको काम श्रमदानबाट सम्पन्न भइसकेको छ । स्थानीयवासीको सक्रिय सहभागिता र सामूहिक श्रमबाट निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

पृथ्वीराजमार्ग नजिकै निर्माण भइरहेको पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ । काठमाडौँ र पोखराबीच आवतजावत गर्ने यात्रु तथा पर्यटकले सहजै अवलोकन गर्न सक्ने स्थानमा रहेकाले यसले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

निर्माण सम्पन्न भएपछि पार्क स्थानीय बासिन्दासँगै बन्दीपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!