मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

मुगु । मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी शुक्रबार दिउँसो करिब ४ः४५ बजे छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार अनियन्त्रित भएको गाडी सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । दुर्घटनामा काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ ।

दुर्घटनामा ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय चालक कञ्चन थापा र सोही स्थानकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले गाडीमा सवार पाँचै जनाको उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो । अस्पताल पुर्‍याइएका तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने घाइते दुई जनाको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले गाडी अनियन्त्रित भई सडकबाट तल खसेको जानकारी दिए । दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!