काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी तथा तराई भूभागमा भने आंशिक बादल लाग्ने पूर्वानुमान छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बादल रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
राति पनि देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।