काठमाडौँ । गाजामा भएको इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी फुटबल खेलाडी महमुद कमाल फारिस अब्देल–मालेकको मृत्यु भएको छ । प्यालेस्टिनी फुटबल सङ्घका अनुसार २० वर्षीय अब्देल–मालेक गाजा स्पोर्ट्स क्लबका कप्तान तथा गोलरक्षक थिए ।
सङ्घका अनुसार मङ्गलबार गाजा सिटीको दक्षिणी क्षेत्र सब्रा आसपास भएको आक्रमणमा उनी मारिएका हुन् । गाजा स्पोर्ट्स क्लबले पनि सामाजिक सञ्जालमार्फत उनको मृत्यु भएको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अब्देल–मालेकको मृत्यु हुनुभन्दा पाँच दिनअघि मात्रै उनले ‘थाउजन्ड मार्टियर्स कप’ फुटबल प्रतियोगिताको फाइनल खेलेका थिए । उक्त प्रतियोगिता सन् २०२३ अक्टोबरदेखि गाजामा जारी युद्धका क्रममा मारिएका खेलाडी तथा खेलकुद क्षेत्रका व्यक्तिहरूको सम्झनामा आयोजना गरिएको थियो । उनको टोली गाजा स्पोर्ट्स क्लब प्रतियोगितामा उपविजेता बनेको थियो ।
प्यालेस्टिनी फुटबल सङ्घका अनुसार अब्देल–मालेकको मृत्युसँगै सन् २०२३ अक्टोबरदेखि गाजामा मारिने खेलकुद क्षेत्रका व्यक्तिहरूको सङ्ख्या १ हजार १७ पुगेको छ । उक्त तथ्याङ्कमा खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेलकुद प्रशासनमा आबद्ध व्यक्तिहरू समावेश छन् । सङ्घले सार्वजनिक गरेको यो सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।
यसैबीच, गत शुक्रबार दक्षिणी गाजाको खान युनिसस्थित अल–मवासी क्षेत्रमा साथीहरूसँग फुटबल खेलिरहेका १५ वर्षीय मोहम्मद निदाल बरबाक पनि इजरायली गोली प्रहारबाट मारिएको प्यालेस्टिनी फुटबल सङ्घले जनाएको छ ।
गाजामा जारी युद्धका कारण फुटबल मैदान, खेलकुद क्लब, प्रशिक्षण केन्द्र तथा अन्य खेलकुद पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । प्यालेस्टिनी खेलकुद अधिकारीहरूका अनुसार यसले त्यहाँको खेलकुद गतिविधि गम्भीर रूपमा प्रभावित भएको छ ।