काठमाडौं । अमेरिकाबाट इरानी नागरिकहरूलाई डिपोर्ट गर्ने प्रयासमा अवरोध आएको छ । कम्तीमा नौ जना इरानी आप्रवासीलाई लिएर इरानतर्फ उडेको अमेरिकी डिपोर्टेसन विमान पाकिस्तानले आफ्नो भूमिमा प्रवेश गर्न अनुमति नदिएपछि बीच बाटोबाटै फर्किएको छ ।
मङ्गलबार बिहान पाकिस्तान हुँदै इरान पुग्ने योजनासहित उडेको विमान अन्ततः अमेरिकाको एरिजोना राज्यस्थित मेसा विमानस्थलमा फिर्ता अवतरण गरेको हो ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, विमानमा सवार सबै इरानी नागरिकलाई एरिजोनाबाट डिपोर्ट गर्न लागिएको थियो । योजनाअनुसार उनीहरूलाई पहिले पाकिस्तान पुर्याएर त्यहाँबाट इरान पठाउने तयारी गरिएको थियो ।
एक अमेरिकी अधिकारी र हिरासतमा रहेका एक व्यक्तिका आफन्तका अनुसार पाकिस्तानले प्रवेश अनुमति दिन अस्वीकार गरेपछि विमान फर्काउनुपरेको थियो । विमान अवतरण भएपछि डिपोर्ट गर्न लागिएका सबैलाई पुनः एरिजोनास्थित आप्रवासन हिरासत केन्द्रमा पठाइएको थियो ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त विमानलाई प्रवेश अनुमति नदिएको विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । यद्यपि, यसअघि विदेश मन्त्रालयका प्रवक्ता सज्जाद हैदर खानले पाकिस्तान हुँदै अफगानिस्तान पठाइने व्यक्तिहरूको डिपोर्टेसन व्यवस्थाबारे विचार भइरहेको बताएका थिए ।
यो एरिजोनाबाट इरानी नागरिकहरूको समूहलाई डिपोर्ट गर्ने दोस्रो प्रयास हो, जसलाई रद्द गर्नुपरेको बताइएको छ । यस घटनाले अमेरिकी प्रशासनको डिपोर्टेसन योजनामा पाकिस्तानको भूमिकामाथि प्रश्न उठाएको छ ।
रिपोर्टअनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरान र अफगानिस्तानका नागरिकलाई उनीहरूको देश फर्काउन पाकिस्तानलाई ट्रान्जिट बिन्दुका रूपमा प्रयोग गर्ने योजना बनाएको छ । तर पाकिस्तानको पछिल्लो अस्वीकारले उक्त योजनामा अवरोध सिर्जना गरेको छ ।
विशेषगरी अमेरिकासँग औपचारिक कूटनीतिक सम्बन्ध नभएका देशहरूमा नागरिकलाई फिर्ता पठाउन तेस्रो मुलुकको सहयोग लिनुपर्ने भएकाले यो घटनालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । पाकिस्तानले भने यस विषयमा हालसम्म विस्तृत स्पष्टीकरण दिएको छैन ।