इरानबाट ज्यान मार्ने धम्की आएपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा

इरानबाट ज्यान मार्ने धम्की आएपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा

काठमाडौं । इरानबाट ज्यान मार्ने धम्की आएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो निजी निवास छोडेका छन् । उनी अहिले सुरक्षा जोखिमका कारण एक सैन्य बेसमा बसिरहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

मामिलाबारे जानकार तीन व्यक्तिका अनुसार अमेरिकी अधिकारीहरूले पछिल्ला केही हप्तामा इरानले वर्तमान तथा पूर्व अमेरिकी अधिकारीहरूलाई निशाना बनाउने षड्यन्त्र अघि बढाइरहेको गुप्तचर सूचना प्राप्त गरेका थिए । उक्त सूचनामा बेसेन्टलाई दिइएका धम्कीहरू पनि समावेश थिए ।

धम्कीको गम्भीरता र सम्भावित जोखिमको स्तरबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । तर अमेरिकी अधिकारीहरूले यसलाई गम्भीरतापूर्वक लिएका छन् । सुरक्षा चिन्ताकै कारण बेसेन्टलाई निजी निवासबाट सैन्य बेसमा सारिएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा बेसेन्ट इरानविरुद्ध आर्थिक दबाब बढाउने रणनीतिका प्रमुख व्यक्तिमध्ये एक हुन् । उनले इरानको अर्थतन्त्र कमजोर बनाउने, अन्तर्राष्ट्रिय व्यापार सीमित गर्ने तथा आर्थिक प्रतिबन्ध कडा पार्ने अभियानको नेतृत्व गर्दै आएका छन् । यही भूमिकाका कारण उनी इरानको सम्भावित निशानामा परेको आशङ्का गरिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार अमेरिका तथा विदेशमा ठूलो स्तरको आक्रमण गर्ने इरानको क्षमता सीमित भए पनि निश्चित व्यक्तिहरूलाई लक्षित गर्ने धम्कीलाई बेवास्ता गर्न सकिँदैन ।

यसअघि सन् २०२४ मा पनि राष्ट्रपति निर्वाचन अभियानका क्रममा तत्कालीन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने षड्यन्त्रमा इरानको संलग्नताको आशङ्का गरिएको थियो । उक्त घटनालाई अमेरिकी अधिकारीहरूले गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएका थिए ।

यसैबीच, अमेरिकी ट्रेजरी विभागका प्रवक्ताले बेसेन्ट इरानी शासनको धम्कीबाट नडराउने बताएका छन् । उनले इरानको अर्थतन्त्रमाथि दबाब बढाउने अभियानलाई बेसेन्टले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको पनि स्पष्ट पारेका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!