काठमाडौं । तिहारका पछिल्ला दुई दिन पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा भएको छ। मंगलबार पनि पहाडी र हिमाली भेगका केही स्थानमा वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार बुधबार भाइटीकाका दिन मंगलबारको तुलनामा धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। विशेषगरी काठमाडौं उपत्यकाका केही स्थानमा समेत हल्का वर्षा हुन सक्ने उनले जानकारी दिएका छन्।
मौसमविद् पोखरेलले सामाजिक सञ्जालमार्फत मौसमसम्बन्धी जानकारी दिँदै भाइटीकाका दिन देशका विभिन्न स्थानमा मौसम बदली भई छिटपुट वर्षा हुन सक्ने बताएका हुन्।
त्यसपछि बिहीबारदेखि आइतबारसम्म भने मौसममा क्रमिक सुधार हुने देखिएको छ। उक्त अवधिमा दिउँसो केही स्थानमा बादल लागे पनि वर्षाको सम्भावना न्यून रहने पोखरेलको भनाइ छ।
तिहार तथा भाइटीकाका अवसरमा घुमफिर, भेटघाट र यात्राको योजना बनाएका सर्वसाधारणले सम्भावित वर्षालाई ध्यानमा राख्दै आवश्यक तयारी गर्नुपर्ने देखिन्छ।