काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन्।
नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएका वाग्लेले जलवायु न्यायका पक्षमा गरेको पैरवीका कारण सूचीमा स्थान पाएको टाइमले जनाएको छ।
गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए।
जलवायुजन्य विपद्बाट भएको क्षतिको क्षतिपूर्ति माग गर्दै नेपालले चीन, अमेरिका र भारतसँग कूटनीतिक पहलसमेत गरेको थियो। पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन वाग्लेले अन्तर्राष्ट्रिय जलवायु वित्त तथा नोक्सानी र क्षति कोष परिचालनमा पनि जोड दिँदै आएका छन्।
टाइमका अनुसार संयुक्त राष्ट्रसंघले गत अक्टोबर २२ मा नेपालका लागि नोक्सानी तथा क्षति कोषबाट २१.६ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो।
वाग्लेको नाम टाइमको सूचीमा समावेश हुनुलाई नेपालको जलवायु जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको मुद्दाले विश्वव्यापी चर्चा पाएको घटनाका रूपमा हेरिएको छ।
यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत व्यक्तित्व पनि समावेश छन्।