हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!