तुइनखोलामा पहिरो रोकथाम गर्न दैनिक पाँच घण्टा नारायणगढ–मुग्लिङ सडक बन्द

तुइनखोलामा पहिरो रोकथाम गर्न दैनिक पाँच घण्टा नारायणगढ–मुग्लिङ सडक बन्द

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न भोलि मंसिर १३ गते आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माका अनुसार पहिरो रोकथामका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यद्यपि, काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने नियमित रूपमा सञ्चालनमा रहने प्रशासनले जनाएको छ ।

तुइनखोला क्षेत्रमा वर्षायाममा मात्र नभई गत वर्षदेखि हिउँदयाममा समेत सुक्खा पहिरो खसेर सडक अवरुद्ध हुने क्रम नरोकिएपछि दीर्घकालीन समाधानका लागि विशेष प्राविधिक काम अघि बढाउन लागिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो रोकथामका लागि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने र किला तथा रड ठोकेर कमजोर चट्टान र माटोलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ ।

यसका साथै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) तथा स्लोपको प्रकृतिअनुसार द्विआयामिक र त्रिआयामिक ढाँचामा ‘बायोइन्जिनियरिङ’ (जैविक प्रविधि) समेत प्रयोग गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले जानकारी दिए ।

गत असोजदेखि रोकिएको तुइनखोलाको काम पुनः सुरु गर्न लागिएको हो । यसअघि पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध हुँदा तुइनखोलामा काम गरिएको थियो । कृष्णभीर खुलेपछि यातायात सहज बनाउन तुइनखोलाको काम रोकिएको थियो ।

हाल मुग्लिङनजिकैको घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सकिने र पर्सिदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने प्रमुख इन्जिनियर शर्माले बताए । घोप्टेभीरको काम सकिएलगत्तै तुइनखोलामा पहिरो रोकथामको कामले गति लिनेछ ।

सडकको अवस्था हेर्दा कम्तीमा १५ दिनसम्म बन्द गरेर काम गर्नुपर्ने प्रारम्भिक अनुमान गरिए पनि प्राविधिक मूल्याङ्कनपछि मात्र कामको कुल अवधि तय गरिनेछ । सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधालाई ध्यानमा राख्दै प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्राको समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!