काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त नियुक्तिका लागि आवेदन आह्वान गरिएको लामो समय बितिसक्दा पनि सरकारले नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा आयोग पदाधिकारीविहीन बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठनसँगै आयोग पदाधिकारीविहीन बनेको हो ।
आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि २०८३ साउन २२ गते दरखास्त आह्वान गर्दै सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनाअनुसार आवेदन दिने अन्तिम म्याद साउन २८ गतेसम्म तोकिएको थियो । तर, दरखास्त आह्वान भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि पदपूर्ति हुन नसकेपछि सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार गठित सिफारिस समितिले सिफारिस प्रक्रिया टुङ्ग्याइसकेको भए पनि पदाधिकारी नियुक्त हुन सकेका छैनन् । ऐनमा प्रतिनिधिसभाका सभामुख, सञ्चारमन्त्री र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहने सिफारिस समितिको व्यवस्था गरिएको छ ।
आयोगका एक कर्मचारीले पदाधिकारी नियुक्त हुन नसक्दा दैनिक कार्यसञ्चालन जसोतसो भइरहे पनि पुनरावेदन र उजुरी सुनुवाइको प्रक्रियामा समस्या देखिएको बताए ।
उनले भने, ‘पुनरावेदन र उजुरीउपर सुनुवाइ हुन नसक्दा सूचनाका सेवाग्राहीलाई निश्चय पनि केही मर्का परेको हुनुपर्छ ।’
सरकारको सम्बन्धित सरोकारवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढिरहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव विष्णुप्रसाद कोइरालाले नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढिरहेको बताउँदै नेपाल न्यूज बैंकसँग भने, ‘प्रक्रियामा छ । निर्णय हुने ठाउँमा पुगेको हुनुपर्छ ।’
आयोगमा लामो समयदेखि पदाधिकारी रिक्त रहँदा जनताको सूचना प्राप्त गर्ने हक कुण्ठित हुन पुगेको सूचनाको हकसम्बन्धी विज्ञहरूले बताएका छन् ।
समावेशी आयोगका पूर्वअध्यक्ष, सूचनाको हकका विज्ञ तथा कानुनविद् डा. रामकृष्ण तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा सूचनाको हक महत्वपूर्ण अधिकार भएकाले त्यसको संरक्षण र कार्यान्वयन गर्ने आयोगलाई लामो समयसम्म पदाधिकारीविहीन राख्न नहुने बताए ।
उनले पदाधिकारी नियुक्तिमा ढिलाइ हुनु उचित नभएको उल्लेख गर्दै आयोग निष्क्रिय हुँदा लोकतन्त्रको महत्वपूर्ण आयाममै असर पर्ने बताए ।
उनले भने, ‘सूचनाको हकको क्षेत्रमा काम गर्ने सूचना आयोग हो । सूचना आयोग यत्तिकै खाली हुनुहुँदैन । प्रमुख आयुक्त र आयुक्तहरू हुनुपर्छ । यसले लोकतन्त्रको एउटा प्रमुख आयाममा असर गर्छ । नियुक्तिमा ढिलाइ हुनु उपयुक्त हुँदैन ।’
यस्तै, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सूचनाको हकका विज्ञ तारानाथ दाहालले पनि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन हुँदा सूचनाको हकको कार्यान्वयन र संरक्षणमा गम्भीर असर परेको बताए ।
उनका अनुसार आयोगमा पदाधिकारी रिक्त हुनुअघि नै नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, समयमै नियुक्ति हुन नसक्दा आयोग निष्क्रिय बन्न पुगेको र नागरिकले सूचना नपाएको अवस्थामा न्याय खोज्ने निकायसमेत प्रभावित भएको उनको भनाइ छ ।
दाहालले भने, ‘राष्ट्रिय सूचना आयोग सूचनाको हक कार्यान्वयन र संरक्षण गर्ने संस्था हो । त्यसलाई नै पदाधिकारीविहीन राख्दाखेरि सूचनाको हकको कार्यान्वयनमा गम्भीर प्रभाव पर्छ । आयोग निष्क्रिय भएपछि नागरिकले सूचना नपाएको अवस्थामा न्याय खोज्ने ठाउँसमेत प्रभावित हुन्छ ।’
उनले पदाधिकारी नियुक्ति सरकारको प्राथमिकतामा पर्नुपर्ने र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस विषयमा सक्रियता देखाउनुपर्ने बताए । योग्य र सूचनाको हकका विषयमा जानकार व्यक्तिहरूमध्येबाट पदाधिकारी नियुक्त गर्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले आयोगमा पदाधिकारी नहुँदा पुनरावेदनका मुद्दा तथा उजुरीमाथि सुनुवाइ हुन नसकेको बताए ।
उनका अनुसार नागरिकले सरकारी निकायबाट सूचना नपाएपछि आयोगमा पुनरावेदन गर्ने व्यवस्था भए पनि पदाधिकारी नहुँदा निर्णय गर्ने, आदेश दिने र कारबाहीका लागि सिफारिस गर्ने काम प्रभावित भएको छ । यसले सूचनाको हकका अभियन्ता र सूचना माग गर्ने नागरिकलाई अन्योलमा पारेको उनको भनाइ छ ।
उनले भने, ‘राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नहुँदा थुप्रै पुनरावेदनमाथि सुनुवाइ हुने अवस्था छैन । सूचना माग्दा पुनरावेदन गर्ने ठाउँमा पदाधिकारी छैनन् । आदेश गर्ने, निर्णय गर्ने र कारबाहीका लागि सिफारिस गर्ने कोही नभएपछि अभियानकर्ताहरू पनि अन्योलमा छन् । आयोगको पदाधिकारी नहुँदा सूचनाको हकको अभियानलाई नै असर परेको छ ।’
बागचन्दले सरकारले नियुक्ति प्रक्रियामा ढिलाइ गर्नु गलत भएको बताउँदै सूचनाको हकका क्षेत्रमा सक्रिय, अनुभवी र विषयविज्ञ व्यक्तिहरूलाई आयोगको नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए ।
उनले विगतमा राष्ट्रिय सूचना आयोगले बनाएको संस्थागत पहिचान र प्रभाव पछिल्लो समय कमजोर हुँदै गएको उल्लेख गर्दै पदाधिकारीविहीन अवस्थाले समस्या थप गम्भीर बनाएको बताए ।
उनका अनुसार सरकारले समयमै पदाधिकारी नियुक्त नगर्दा नागरिकले सरकारी निकायबाट सूचना प्राप्त गर्न नसकेको अवस्थामा पुनरावेदन गर्ने र न्याय पाउने अधिकारसमेत प्रभावित भइरहेको छ ।
सूचनाको हक नागरिकको मौलिक अधिकार हो । राज्यका निकायलाई पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय सूचना आयोग नै लामो समयसम्म पदाधिकारीविहीन रहँदा यसको प्रभाव नागरिकको सूचना प्राप्त गर्ने अधिकार र लोकतान्त्रिक अभ्यासमा पर्ने सरोकारवालाहरूको निष्कर्ष छ ।