मलेसियाको बेस्टिनेटमा रकम पठाएको सक्कल फाइल फेला

मलेसियाको बेस्टिनेटमा रकम पठाएको सक्कल फाइल फेला

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा सङ्कलन गरिएको रकम मलेसियास्थित बेस्टिनेट कम्पनीमा पठाइएको सम्बन्धी सक्कल फाइल फेला परेको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको पहलमा गत मंसिर २ गते मन्त्रीस्तरीय निर्णयबाट उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा गठित कार्यदलले उक्त फाइल फेला पारेको हो ।

म्याक्रोटेक कम्पनीमार्फत मलेसियाको बेस्टिनेटमा रकम पठाइएको सम्बन्धमा आवश्यक कागजात तथा विवरण खोजी गर्ने जिम्मेवारी पाएको कार्यदलले मन्त्रालयका विभिन्न शाखामा रहेका अभिलेख र कागजात अध्ययन तथा खोजबिन गरेको थियो ।

कार्यदलले दिनरात खटिएर सक्कल फाइल फेला पारेको र तोकिएको समयसीमाभन्दा अगावै जिम्मेवारी पूरा गरी फाइल हस्तान्तरण गरेको जनाएको छ ।

फेला परेको सक्कल फाइल थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!