काठमाडौं । मलेसिया रोजगारीसँग जोडिएको अनियमितता प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। उनलाई भारतको कोलकाताबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार अर्याललाई स्थलमार्ग हुँदै नेपाल भित्र्याइएको थियो। त्यसपछि हवाईमार्गबाट काठमाडौं ल्याइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको हो।
म्याद थपको प्रक्रियाका लागि उनलाई सीआईबीबाट काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ।
मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोप अर्यालमाथि छ।
यसअघि सोही प्रकरणमा पूर्वमन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा पूर्वश्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्। पक्राउ परेका व्यक्तिहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ।