तनहुँ । तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण अघि बढाउन स्थानीयले दबाब बढाएका छन् । पुल निर्माणमा देखिएको अवरोध हटाएर तत्काल काम अगाडि बढाउन उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
पुल निर्माणको प्रगति र पछिल्लो अवस्थाबारे जानकारी लिन स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेमा १२ वर्षअघि निर्माण सुरु गरिएको पुल अहिले अलपत्र अवस्थामा छ ।
सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले पुरानै स्थान वा नयाँ स्थानबाट पुल निर्माण गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिएका छन् । यसका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
डिभिजन कार्यालयले घुमाउने पुल निर्माणको ठेक्का यसअघि नै तोडिसकेको छ । निर्धारित अवधि र थपिएको म्यादमा समेत काम सम्पन्न नगरेको तथा पटक–पटक निर्देशन दिँदा पनि निर्माण व्यवसायीले चासो नदेखाएपछि गत वैशाखमा ठेक्का तोडिएको थियो ।
घुमाउनेमा पुल नबन्दा यस भेगका बासिन्दाले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । पुल निर्माणका लागि स्थानीयले पटक–पटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउनुका साथै सम्बन्धित निकायमा पुगेर घेराउसमेत गरेका थिए । निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि पुलका दुवैतर्फ पिल्लर मात्रै ठडिएका छन् ।
सञ्जीवनी निर्माण कम्पनी, हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा पुनः निर्माण सम्झौता गरिएको थियो । सम्झौताअनुसार विसं २०७८ चैतमा पुल निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, हालसम्म करिब ३६ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीच सहज आवागमन गराउने उद्देश्यले घुमाउनेघाटमा मोटरेबल पुल निर्माण थालिएको हो । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनार हुँदै व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६ तथा आँबुखैरेनी गाउँपालिका–५ भएर अघि बढ्छ । उक्त सडक मुग्लिन–नारायणगढ सडकखण्डमा जोडिन्छ ।
देवघाट गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दासमेत लाभान्वित हुने यो सडक पृथ्वी राजमार्गको मुग्लिन सडकखण्डभन्दा २३ किलोमिटर छोटो छ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिं मार्गमा घुमाउनेको मोटरेबल पुल निर्माण सम्पन्न भएपछि वैकल्पिक मार्गबाट पोखरा र दमौलीलाई नारायणगढसँग जोड्न सकिनेछ । हाल पुल नहुँदा सवारीसाधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोर्याएर मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुर्याउन सकिन्छ ।