कायरो । इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयले बुधबार घटनाबारे जानकारी दिएको हो ।
कायरोको गिजा प्रान्तस्थित इम्बाबा जिल्लाको वराक क्षेत्रमा रिङरोडको सुरुङमाथि उक्त दुर्घटना भएको थियो । पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएपछि आगलागी भएको र त्यसले आसपासका अन्य सवारीसाधनलाई समेत चपेटामा पारेको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गाडी अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । त्यसपछि विस्फोटसहित आगलागी भएको थियो । आगो नियन्त्रणमा लिइसकिएको छ ।
घटनामा २७ वटा सवारीसाधन जलेर नष्ट भएको इजिप्टको अभियोजन कार्यालयले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । मृतकको पहिचान खुलाउन शवबाट डीएनए नमुना संकलन गर्न पनि आदेश दिइएको छ ।
घटनास्थलमा उद्धार तथा उपचारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेहरूलाई नजिकका अस्पतालमा लगेर उपचार भइरहेको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री मुस्तफा मदबुलीले पनि मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्ने व्यवस्था मिलाउन आदेश दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले घटनाको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको र सम्बन्धित निकायसँग समन्वय गरी घाइतेहरूलाई आवश्यक उपचार उपलब्ध गराइरहेको जनाएको छ ।
कायरोको रिङरोड राजधानी र आसपासका प्रमुख राजमार्ग तथा कायरो, गिजा र कल्युबिया प्रान्तलाई जोड्ने व्यस्त सडक हो । दुर्घटनाका कारण उक्त क्षेत्रमा ठूलो क्षति पुगेको छ ।