काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको थियो । विनिमय दरमा भएको नाफासहित कात्तिक मसान्तसम्म ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको हो ।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो ।
कुल ऋण परिचालनको लक्ष्यमा आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ रहेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ १ खर्ब २५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ ।
वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत रहेको छ । प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८ दशमलव ७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ । यसमध्ये आन्तरिक ऋणतर्फ २ खर्ब ८५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ परिचालन गर्न बाँकी रहेको छ ।
यसैगरी, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ ऋण भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो ।
कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च २ दशमलव १४ प्रतिशत रहेको छ । ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ ।
आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ । यसअन्तर्गत आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ ।
आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४० दशमलव ६४ प्रतिशत र ब्याज भुक्तानीमा २३ दशमलव ४० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजन गरिएको ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँमध्ये कात्तिक मसान्तसम्म २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो ।
वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको २४ दशमलव ०७ प्रतिशत र ब्याज भुक्तानीमा २४ दशमलव ९० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।