काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह वित्तीय जिल्लामा रहेको एक अग्लो भवनमा भएको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका छन् ।
स्थानीय नागरिक सुरक्षा निकायका अनुसार घटनामा साउदी, नेपाली, भारतीय र इजिप्टका नागरिक घाइते भएका हुन् । घाइतेहरूलाई उद्धार गरी आवश्यक उपचार तथा सहयोग उपलब्ध गराइएको छ । उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।
आक्रमण भएको क्षेत्र साउदी अरबको महत्वपूर्ण आर्थिक तथा वित्तीय केन्द्रका रूपमा परिचित छ । घटनापछि सुरक्षा निकायले आक्रमणबारे अनुसन्धान अघि बढाएको छ ।
उक्त क्षेत्रमा एक साताभित्रै दोस्रोपटक आक्रमण भएको घटनाले सुरक्षा चुनौती थपिएको छ ।
आक्रमणमा तीन नेपालीसमेत घाइते भएपछि साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीहरूको सुरक्षाबारे चिन्ता बढेको छ ।