युक्रेन युद्धमा रुसका ७ लाखभन्दा बढी सैनिक मारिएको दाबी

युक्रेन युद्धमा रुसका ७ लाखभन्दा बढी सैनिक मारिएको दाबी

काठमाडौं । रुसले युक्रेनसँग जारी युद्धमा हालसम्म ७ लाखभन्दा बढी सैनिक गुमाएको दाबी सार्वजनिक भएको छ । यो सङ्ख्या रुसको सरकारी अभिलेखमा दर्ता भएको सैनिक मृत्युको तुलनामा करिब २ लाखले बढी हो । रुसबाहिर रहेर काम गरिरहेका दुई सञ्चारमाध्यम ‘मेडुजा’ र ‘मिडियाजोना’ले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

ती सञ्चारमाध्यमका अनुसार उक्त तथ्याङ्क युक्रेन समर्थक दुई ह्याकर समूहले प्राप्त गरेका सरकारी विवरणको विश्लेषणमा आधारित छ । राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको रुसी सरकारले युद्धमा भएको सैनिक क्षतिको पूर्ति गर्न हरेक वर्ष ४ लाखभन्दा बढी नयाँ सैनिक भर्ती गरिरहेको छ ।

सेप्टेम्बरसम्म रुसको सरकारी अभिलेखमा कम्तीमा ४ लाख ९० हजार सैनिकको मृत्यु दर्ता भएको थियो । तर सरकारी अभिलेखमा मृत्युको विवरण दर्ता हुन लामो समय लाग्ने भएकाले वास्तविक सङ्ख्या योभन्दा बढी रहेको अनुमान गरिएको छ । उक्त विवरणमा सन् २०२६ मा मारिएका अधिकांश सैनिकको मृत्यु समावेश छैन भने सन् २०२५ मा मारिएका कैयौँ सैनिकको विवरणसमेत दर्ता भएको छैन ।

मेडुजा र मिडियाजोनाले यो अन्तर पत्ता लगाउन वैज्ञानिक विधिबाट तथ्याङ्क विश्लेषण गरेका थिए । उनीहरूले बेपत्ता भएका तर मारिएको आशङ्का गरिएका सैनिकलाई समेत गणनामा समावेश गरेका थिए । त्यसपछि सबै मृत्यु समयमै सरकारी अभिलेखमा दर्ता भएको भए कुल सङ्ख्या कति पुग्थ्यो भन्ने अनुमान गरिएको थियो । सोही विश्लेषणबाट ७ लाखभन्दा बढी सैनिकको मृत्यु भएको निष्कर्ष निकालिएको हो ।

यी दुई सञ्चारमाध्यमले विगत कैयौँ वर्षदेखि रुसी सैनिकको मृत्युको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् । यसका लागि सरकारी अभिलेख, इच्छापत्र, सम्पत्तिसम्बन्धी कागजात तथा मृत्युका समाचारहरूको अध्ययन गर्दै आएका छन् ।

यसपटक भने उनीहरूले ह्याक गरिएका सरकारी तथ्याङ्कबाट थप जानकारी प्राप्त गरेका हुन् । उक्त तथ्याङ्कमा रुसको नागरिक दर्ता प्रणाली र सरकारको डेटा एक्सचेन्ज प्रणालीका विवरण समावेश थिए । यी प्रणालीमार्फत व्यक्तिको पहिचान गोप्य राखेर सरकारी निकायमा सूचना पठाइन्छ र त्यसैका आधारमा सरकारले राष्ट्रिय तथ्याङ्क तयार पार्छ ।

राष्ट्रपति पुटिन नेतृत्वको सरकारले युद्धमा मारिएका सैनिकको वास्तविक सङ्ख्या सार्वजनिक गरेको छैन । सरकारले युद्धसँग सम्बन्धित समाचारमा प्रतिबन्ध लगाउनुका साथै विरोध गर्नेहरूको आवाज दबाउँदै आएको आरोप छ । सरकारी प्रचारका कारण युद्धमा भएको मानवीय क्षतिसम्बन्धी वास्तविक विवरण सर्वसाधारणसम्म पुग्न कठिन भएको बताइएको छ ।

‘कार्नेगी इन्डाउमेन्ट फर इन्टरनेसनल पिस’का वरिष्ठ अनुसन्धानकर्ता माइकल कफम्यानका अनुसार रुसले भर्ती गरिरहेको सैनिकको तुलनामा युद्धमा गुमाइरहेको सैनिकको सङ्ख्या बढी छ । यद्यपि, रुस सन् २०२६ मा करिब ४ लाख ९ हजार सैनिक भर्ती गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ । नयाँ सैनिक आकर्षित गर्न रुसी सरकारले ठूलो रकम दिने प्रस्तावसमेत जारी राखेको छ ।

कफम्यानका अनुसार तीव्र सैनिक भर्तीले रुसलाई ठूलो क्षतिका बाबजुद युद्ध जारी राख्न मद्दत गरिरहेको छ । तर यसले युद्धमैदानमा रुसी सेनाको स्थिति सुधार्न भने पर्याप्त सहयोग नगर्न सक्छ । आगामी दिनमा रुसले आक्रमणका लागि पर्याप्त पैदल सैनिक जुटाउन कठिनाइ भोग्न सक्ने उनको विश्लेषण छ ।

उनले रुसले सेना परिचालन गर्ने तरिका परिवर्तन नगरे आगामी दिनमा पनि ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् । यति ठूलो सङ्ख्यामा सैनिक परिचालन गर्दा पनि युद्धमैदानमा उसको स्थिति सुध्रिने सम्भावना कम रहेको उनको भनाइ छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!