नसाको औषधि खुवाएर १३ वर्षसम्म श्रीमतीमाथि सामूहिक यौन हिंसा

नसाको औषधि खुवाएर १३ वर्षसम्म श्रीमतीमाथि सामूहिक यौन हिंसा

काठमाडौं । बेलायतमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई नसाको औषधि खुवाएर बेहोस बनाई १३ वर्षसम्म अन्य पुरुषहरूबाट बलात्कार गराएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न पाँच जना पुरुषलाई अदालतले बलात्कार तथा यौन हिंसासम्बन्धी विभिन्न अपराधमा दोषी ठहर गरेको छ।

बीबीसीका अनुसार जोआन यंगका पूर्वश्रीमान् फिलिप यंगले उनलाई नसाको औषधि खुवाएर बेहोस बनाउने र त्यसपछि अपरिचित पुरुषहरूलाई घरमा बोलाएर यौन शोषण गराउने गरेका थिए। उनले क्रेगलिस्ट र ग्राइन्डरजस्ता अनलाइन प्लेटफर्ममा विज्ञापन राखेर अन्य पुरुषलाई बोलाउने गरेका थिए।

जोआनले बेहोस अवस्थामा आफूलाई ओछ्यानमा बाँधिएको र अपरिचित व्यक्तिहरूको उपस्थितिमा ब्युँझिएको बताएकी छन्। तर, त्यतिबेला आफ्नै श्रीमान्ले योजनाबद्ध रूपमा आफ्नो यौन शोषण गराइरहेको उनलाई थाहा थिएन।

गत बिहीबार अदालतले यस घटनामा संलग्न चार जना पुरुषलाई दोषी ठहर गरेको हो। जोआनका पूर्वश्रीमान् फिलिप यंग र अर्का व्यक्ति डिन ह्यामिल्टनले यसअघि नै बलात्कार तथा यौन हिंसाका आरोप स्वीकार गरिसकेका थिए।

घटनामा संलग्न पुरुषहरू विभिन्न पेसा र पृष्ठभूमिका रहेको बीबीसीले जनाएको छ। उनीहरूमध्ये एक जना बेलायतको रक्षा मन्त्रालयको आणविक रक्षा परियोजनामा काम गर्ने व्यक्ति थिए।

फिलिप यंगले अनलाइनमा आफ्नी श्रीमतीको यौन शोषणलाई दम्पतीको साझा यौन रुचिका रूपमा प्रस्तुत गर्ने गरेका थिए। उनले जोआनका बेहोस अवस्थामा खिचिएका तस्बिरसमेत अनलाइनमा राखेका थिए।

अदालतमा केही पुरुषहरूले आफूहरूलाई जोआन र उनका श्रीमान् दुवै यौन सम्पर्कका लागि सहमत रहेको बताइएको जिकिर गरेका थिए। उनीहरूलाई जोआन सुतेको नाटक गरिरहेको भनिएको थियो। तर, वास्तविकतामा उनलाई ठूलो मात्रामा नसाको औषधि खुवाएर बेहोस बनाइएको थियो।

बेलायतको सरकारी अभियोजन संस्था क्राउन प्रोसिक्युसन सर्भिसका विशेष अभियोजक जेम्स फोस्टरले घटनाका क्रममा कसैले पनि जोआनको इच्छा र सहमतिबारे बुझ्ने प्रयास नगरेको बताए।

कानुनअनुसार यौन सम्पर्कका लागि व्यक्तिको स्वतन्त्र र सचेत सहमति आवश्यक हुन्छ। बेहोस अवस्थामा रहेको वा निर्णय गर्न नसक्ने व्यक्तिले यौन सम्पर्कका लागि सहमति दिन नसक्ने ब्रिस्टल विश्वविद्यालयकी प्राध्यापक म्यारियन हेस्टरले बताइन्।

अदालतको फैसलापछि जोआनले आफूले भोगेको पीडा शब्दमा व्यक्त गर्न कठिन रहेको बताइन्। उनले आफ्नो जीवन र परिवारमा यस घटनाको गम्भीर असर परेको उल्लेख गर्दै यौन हिंसामा परेका व्यक्तिहरूलाई चुप लागेर नबस्न आग्रह गरिन्।

‘तपाईंहरू एक्लो हुनुहुन्न’, उनले भनिन्, ‘यदि हामी साँच्चै यस्ता उत्पीडन रोक्न चाहन्छौँ भने चुप लागेर बस्नु कुनै विकल्प होइन।’

यस घटनाले अनलाइन प्लेटफर्ममार्फत हुने महिला हिंसा र यौन शोषणका विषयमा पनि प्रश्न उठाएको छ। पोर्ट्समाउथ विश्वविद्यालयकी साइबर अपराध तथा लैङ्गिक विषयकी प्राध्यापक लिसा सुगिउराले महिलाविरुद्धको हिंसालाई सामान्य बनाउने सामग्री नियन्त्रण गर्नु अनलाइन प्लेटफर्महरूको जिम्मेवारी भएको बताइन्।

बेलायतको नेसनल क्राइम एजेन्सी (एनसीए) ले पनि यस्ता अपराधको अनुसन्धानलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। एजेन्सीका अनुसन्धानकर्ताहरूले एउटा अनलाइन फोरम र त्यससँग जोडिएका समूहका २७० भन्दा बढी व्यक्तिको पहिचान गरेका छन्।

प्रहरीका अनुसार यस्ता अपराधका धेरै पीडितलाई आफूलाई नसाको औषधि खुवाइएको वा यौन हिंसा भएकोसमेत थाहा नहुन सक्छ। कतिपयलाई घटनाको धुमिल वा टुक्राटुक्रा सम्झना मात्रै हुने भएकाले यस्ता अपराध पहिचान गर्न र उजुरी दर्ता गराउन कठिन हुने गरेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!