नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो। साथै, दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो द्विपक्षीय औपचारिक भ्रमण हो।
भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी छ। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी, व्यवसायी तथा पत्रकार छन्।
भ्रमणको कार्यतालिकाअनुसार जयशंकरसँगको भेटपछि आइतबार साँझ नेपाल–भारत बिजनेस फोरमको रात्रिभोज आयोजना हुँदैछ। सोमबार बिहान प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा एकान्त भेटवार्ता हुनेछ।
भारतीय विदेश मन्त्रालयका अनुसार मोदीसँगको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, नयाँ क्षेत्रको सहकार्य तथा संयुक्त भिजन डकुमेन्टका विषयमा छलफल हुनेछ।
भ्रमणका क्रममा ऊर्जा सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ। आयोजनाको शिलालेख नयाँ दिल्लीबाट डिजिटल माध्यममार्फत अनावरण गरिने र सङ्खुवासभास्थित आयोजनास्थलमा प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ। बाढीपछिको पुनर्निर्माण तथा विकास परियोजनासम्बन्धी आर्थिक सहकार्यका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

