Tuesday, June 9, 2026
Home Blog Page 728

सरकारले महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने

0

काठमाडौं: सरकारले राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई जनही ३ लाख दिने निर्णय गरेको छ ।

सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप-विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३ लाख दिने निर्णय गरेको हो ।

त्यस्तै मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही एक लाख २० हजार दिने निर्णय गरेको हो ।

साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेलाडीहरुलाई सो पुरस्कार रकम दिने निर्णय गरेको हो।

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको चासो

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिनुभयो।

सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुुदानमा रहेको छ। किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो।

प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूहिक खेती प्रणालीमा जान सुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गर्नुभयो।

प्रधानमन्त्री ओलीले माछापालन, दुध उत्पादन, सुन्तला, काजु, ल्याङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिनुभयो ।

उहाँले पशुपंक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुदानको निरन्तरता भन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुझाव दिनुभयो।

भोटेकोशी बाढीले खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो

0

सोलुखुम्बु: भोटेकोशी नदीमा आएको बाढीले बगाएर सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन्। बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकानुसार बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लीनिक बगाएको छ।

सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। नदी कटानका कारण तटीय क्षेत्रका बस्ती जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी थम्बुचे र नाम्चेबाट सुरक्षाकर्मी परिचालित भएका छन्। हाल पानीको बहाव घट्दै गएको प्रहरीले जनाएको छ।

वर्षातविना नै कोशीमा आएको बाढीको कारण बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। थामेभन्दा माथिको हिमताल फुटेर कोशीमा बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ।

जीविकोपार्जनसँग पर्यटनलाई जोड्न तनहुँमा चियाखेती

0
फाइल तस्बिर

दमौली (तनहुँ): जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् ।

ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय बेर्ना सारेको छ ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार यो वर्ष परीक्षणका रुपमा रोपिएका बिरुवाबाट अपेक्षाअनुसार उत्पादन भएमा भविष्यमा त्यसलाई विस्तार गरिनेछ । हाल दुवुङकोटको एक सय रोपनी जग्गामध्ये १२ रोपनीमा हाल बिरुवा लगाइएको हो ।

स्थानीयवासीलाई रोजगारीसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परीक्षणका रुपमा चियाखेती गरिएको उहाँले बताउनुभयो । चिया बगानका माध्यमबाट दुवुङकोटलाई पर्यटकीयस्थलका रुपमा पनि विकास गर्न सकिने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

ऋषिङ गाउँपालिका–३ का वडाध्यक्ष भीमबहादुर थापा दुवुङकोटमा ‘भ्यूटावर’ पनि रहेकाले यो ठाउँ आन्तरिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुहुन्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि विकास शाखाको संयुक्त कार्यक्रमबमोजिम आँबुखैरेनीको बतासे डाँडामा चिया बगान बनाउने प्रयास भएको कृषि विकास शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँको हावापानी चिया बगानका लागि उपयुक्त भएकाले परीक्षणको रुपमा पहिलोपटक चियाका बिरुवा रोपिएको हो ।”

अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था

0

नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरी चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन गरेको छ ।

नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिनुभयो । जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।

यसैबीच, नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई रु आठ हजार छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुननपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

 

सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित

0

बरहथवा (सर्लाही): सर्लाहीका अधिकांश विद्यालयमा पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी भएका कारण पठनपाठन प्रभावित भएको हो ।
हाल जिल्लामा एक शिक्षक बराबर एक सय १७ जना विद्यार्थी छन् ।

शिक्षक दरबन्दी पर्याप्त नभएका कारण कक्षा ५ सम्मका विद्यार्थीलाई दुई जना मात्रै शिक्षकले पढाउनुपरेको गोडैता नगरपालिका–२ जयपुरमा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्बु महतोले गुनासो गर्नुभयो । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार शिक्षकको दरबन्दी न्यूनतम आवश्यकताको पनि आधाभन्दा कम छ ।

जिल्लामा चार सय ४७ वटा सामुदायिक, एक सय ९८ वटा संस्थागत र ७२ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख तारापति खरेलले जानकारी दिनुभयो । शिक्षा समन्वयको तथ्याङ्कअनुसार प्राथमिकदेखि उच्च माध्यामिक तहसम्म एक हजार सात सय १० वटा स्वीकृत शिक्षकको दरबन्दी र छ सय ९३ वटा अनुदान राहत शिक्षक गरी कूल दुई हजार तीन सय ८८ वटा मात्र दरबन्दी कायम छ ।

विद्यार्थी र विद्यालयको अनुपातमा कम्तीमा जिल्लामा दुवै प्रक्रियाबाट न्यूनतम पाँच हजार तीन सय २७ वटा शिक्षक दरबन्दी आवश्यक रहेको कार्यालय प्रमुख खरेलले बताउनुभयो । शिक्षक दरबन्दी अभावका कारण जिल्लामा अधिकांश विद्यालय सङ्कटमा परेका उहाँको भनाइ छ । “आन्तरिक स्रोत जुटाउन सक्ने केही पालिकाले शिक्षक राखेका छन्, उनीहरुको अवस्था राम्रो छ । बाँकीको अवस्था नाजुक छ ।”

शिक्षक पर्याप्त नभएका कारण पठनपाठन प्रभावित भएको हरिपुर्वा नगरपालिकास्थित केशवर गरिब जनता माध्यमिक विद्यालयका छात्र राम विश्वास रायले गुनासो गर्नुभयो । “विद्यालयमा सधँै शिक्षकको अभाव छ । किताब पढ्नै नपाइ परीक्षा दिनुपरिरहेको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा प्राविधिक धारतर्फ भने शिक्षक दरबन्दी न्यूनतम आवश्यकताअनुसार नै रहेको उहाँले बताउनुभयो । पशु विज्ञान, बाली विज्ञान, कम्प्युटर, सिभिल इञ्जिनियरिङ गरेर जिल्लामा नौ वटा प्राविधिक धारतर्फ विद्यालय छन् । त्यसका लागि न्यूनतम आवश्यकताअनुसार ७३ वटा शिक्षक दरबन्दी छन् ।

त्यस्तै सुस्त श्रवणका लागि लक्षित विद्यालय पाँच, बौद्धिक अपाङ्गता भएकाका लक्षित तीन र न्यून दृष्टियुक्तका लागि एक विद्यालय सञ्चालन भइरहेका हुन् । १० वटा माध्यमिक विद्यालयमा नमूना कार्यक्रम सञ्चालन भइरहेको शिक्षा समन्वय कार्यालय मलङ्गवाका प्राविधिक सहायक सुनीलप्रसाद कुशवाहले जानकारी दिनुभयो ।

विसं २०५८ मा कायम भएको स्वीकृत शिक्षक दरबन्दी र विसं २०६७ मा कायम राहत अनुदान शिक्षक दरबन्दीकै भरमा विद्यालयमा पठनपाठन गराउनु परिरहेको बागमती नगरपालिका–२, घरहरामा रहेको जनबाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाको भनाइ छ । त्यसयता विद्यालयको स्तरोन्तति तथा विद्यार्थीको अनुपातमा भएको वृद्धिका कारण थोरै दरबन्दीमा पठनपाठन सकसपूर्ण भएको उहाँले बताउनुभयो ।

तीन वटै सरकार शिक्षा क्षेत्रमा भएको समस्या समाधानम उदासिन देखिएको शिक्षासेवी तथा नागरिक समाजका अगुवा उग्रकान्त मिश्रले टिप्पणी गर्नुभयो । नागरिकबाट बालबालिकाले न्यूनतम मात्रामा शिक्षक नपाउनु विडम्बना भएको उहाँको भनाइ छ ।

जिल्लामा सबै तहका गरी एक लाख ३४ हजार सात सय ९९ छात्रा र एक लाख ४२ हजार पाँच सय ६१ जना छात्र गरी कूल दुई लाख ७७ हजार तीन सय ६० जना छात्रछात्रा अध्यनरत छन् । तराईका जिल्लामा प्रावि तहमा प्रतिशिक्षक ५० जना र मावि तहमा प्रतिशिक्षक अधिकतम ४० जना विद्यार्थी रहने सङ्घीय शिक्षा ऐनमा उल्लेख छ ।

भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

0

काँक्रेविहार (सुर्खेत): भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । पहिरोले विद्युतको पोल बगाउँदा विद्युत सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ ।

बाटोमा केही समस्या नभएको र पानीको सतह घट्नेबित्तिकै राजमार्ग सञ्चालन छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने सवारीसाधान तथा सदरमुकाम मुसिकोट आउने साना–ठूला सवारीसाधन पितिवाङ खोलामा रोकिएका छन् ।

यसैबीच, रुकुमपश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । चौरजहारी मुसिकोट खण्डअन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरलले जानकारी दिनुभयो ।

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

0

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा पक्की पुल निर्माण भएको छ । पुलको लागत दुई करोड ७१ लाख २७ हजार ९६४ रहेको बताइएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकारी दिए ।

चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए । “ढिलो भए पनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको उनले बताए ।
उक्त पुलमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ।

आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव, ४ प्रदेशमा भारी वर्षा हुने

0

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै पानी पर्ने सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

१७ लाख १० हजारको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद

0

वीरगञ्ज: सशस्त्र प्रहरी बलले १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाईछिपाई लैजाने क्रममा रहेको चार सय ५० थान भेप बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहका अनुसार भन्सारको मुख्य गेट नजिकै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा टाँगाभित्र फल्स बटम बनाएर लुकाएर राखेको इलेक्ट्रिक चुरोट बरामद गरिएको हो।

“भारततर्फ लैजानका लागि बाटोमा रोकिराखेको टाँगाबाट सो भेप बरामद भएको हो”, उहाँले भन्नुभयो, “बरामद भएको भेप आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ ।”

यसअघि पर्सा प्रहरीले गत साउन २४ गते रु पाँच करोड मूल्य पर्ने ७६ कार्टुन इलेक्ट्रिक भेप बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेल्वेरोडस्थित रामप्रसाद बैरेको पक्की घरमा भाडामा दिएको कोठाबाट ७६ कार्टुन अर्थात १५ हजार दुई सय थान इलेक्ट्रिक भेप बरामद थियो । एक कार्टुनमा दुई सय थान भेप भेट्टिएको थियो ।