Homeअर्थ र ब्यापारहराउँदै अक्सिजन सिलिन्डर

हराउँदै अक्सिजन सिलिन्डर

काठमाडौं : अक्सिजन सिलिन्डर हराउन थालेका छन्। अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ।

संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिन्डरबापत धरौटी रकम जम्मा गरेका छैनन्। उद्योग परिसरबाट व्यक्तिगत रूपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाडाबेगर सिलिन्डर लगेका छन्। उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिन्डरको गाडी बीच बाटो र उद्योग परिसरबाटै सेना तथा सुरक्षाकर्मीले जफत गरी विभिन्न स्थानमा पुर्‍याएका कारण अधिकांश उद्योगको सिलिन्डर हराइरहेको उद्योगीहरू बताउँछन्।

विराटनगरमा जफत गरी काठमाडौं पठाउने, वीरगन्जमा जफत गरी विराटनगर पठाउने प्रक्रियाले पनि सिलिन्डर हराएको र त्यसबापत पाउनुपर्ने भुक्तानी पनि उद्योगले नपाएको संघले जनाएको छ।  ‘यसरी विभिन्न स्थानमा पुर्‍याएको फिर्ता नल्याइएका कारण उद्योगमै सिलिन्डरको चर्को अभाव भएको छ,’ संघका अध्यक्ष गौरव शारदाले भने, ‘काठमाडौंकै ८ वटा उद्योगको झन्डै ५० देखि ६० प्रतिशत सिलिन्डर कहाँकहाँ पुर्‍याइएको छ, त्यो बारेमा हामीले पत्ता लगाउन सकेका छैनौं। यसले गर्दा नियमित रूपमा रोटेसनमा अक्सिजन सिलिन्डर पनि अति आवश्यक स्थानमा वितरण गर्न कठिनाइ भएको छ।’  सिलिन्डर प्रयोग गरेबापत धरौटी लिने, तोकिएको समयभन्दा बढी समयसम्म राख्दा दैनिक रूपमा भाडा लिने र सिलिन्डर हराएको अवस्थामा उपयोगकर्ताबाट जरिवाना असुल गर्ने व्यवस्था नभएका कारण स्वदेशी उद्योगी मारमा परेको संघको भनाइ छ।

‘हामीले सरकारी निकायलाई पटकपटक ध्यानाकर्षण गराएका छौं। जसको सिलिन्डर छ, उसकै उद्योगमा फिर्ता गरिदिए निकै सहज हुन्थ्यो। सिलिन्डर फिर्ता नआउँदा उद्योगको ठूलो सम्पत्ति हराएको छ,’ शारदाले भने। शारदाले पाँच हजार थान सिलिन्डर आयात गरेका थिए। उनको उद्योगमा अहिले दुई सय सिलिन्डर खाली छन्। करिब एक हजार थान सिलिन्डर नियमित रूपमा रोटेसन प्रणालीमा घुमिरहेको छ। ‘बाँकी चार हजार थान सिलिन्डर नभेटिएर अहिले हराइरहेका छन्। सिलिन्डरबापत भएको लगानी डुबेको छ,’ शारदाले भने। एउटा ठूलो सिलिन्डरको मूल्य २० हजार रुपैयाँ पर्छ। अक्सिजन उद्योगीको सबैभन्दा ठूलो लगानी यही सिलिन्डरमा हुन्छ। अस्पतालले व्यक्ति विशेषलाई चिठी दिएर उद्योगबाट अक्सिजन ल्याउन भन्दै आएको छ।

अस्पतालले अक्सिजन आफैं खोजेर ल्याएको अवस्थामा मात्रै बिरामीलाई भर्ना गर्ने सूचनापछि उद्योगबाट भरिएका सिलिन्डर हराउने क्रम झनै बढेको सोपान अक्सिजन तथा फर्माच्युटिकल्सका प्रबन्ध निर्देशक बसन्तचन्द्र मरहठ्ठाले बताए। कोभिड दोस्रो चरणको लहर चर्को रूपमा बढेसँगै अक्सिजन लिन अस्पताल, सुरक्षाकर्मी, सेना, सर्वसाधारण, विभिन्न प्रकारका संस्थाको चाप उद्योग परिसरमा परेको छ। ‘यसरी उद्योगमै चाप परेपछि हामीलाई झनै सकस भएको छ, कतिपयले गुन्डागर्दी शैली प्रदर्शन गर्छन। दिउँभन्दा सिलिन्डर फिर्ता नआउने समस्या अत्यधिक छ,’ मरहठ्ठाले भने।

सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच तालमेल नमिल्दा पनि उद्योगीहरू पेलिएको महसुस गर्न थालेका छन्। ‘कोटा तोक्ने काम पनि एकद्वार प्रणालीबाट छैन। उद्योगको क्षमताभन्दा कोटा तोकिनु, जुन स्थानमा आपूर्ति छ, त्यसलाई हटाएर बीचमै अर्को स्थानमा आपूर्ति गर्न दबाब दिनुले पनि उद्योगलाई उत्पादन र वितरण गर्न निकै कठिनाइ भएको छ। सिलिन्डर जथाभावी रूपमा स्थानमा पुगेको र भुक्तानी पनि प्राप्त हुन नसकेको संघले जनाएको छ।

अक्सिजन सिलिन्डरको उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित गर्न एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने सबै उद्योगीको माग छ। खोजबिन गरी सबै उद्योगको सिलिन्डर संकलन गरी एकै स्थानमा जम्मा गर्नुपर्छ। ‘केन्द्रीकृत रूपमा एकद्वार प्रणाली कार्यान्वयनमा नल्याइए उद्योगीले अब हात उठाएर उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्,’ सगरमाथा अक्सिजन उद्योगका निर्देशक नारायणदत्त तिमल्सिनाले भने, ‘एकातिर सम्पत्तिको नास छ, अर्कोतर्फ उत्पादित सिलिन्डर गुन्डागर्दी शैलीमा आफूखुसी जसलाई मन लागेको छ, उसले लगेका छन्। सिलिन्डर लगेबापत भुत्तानी पनि आउने अवस्था छैन।’

एकद्वार प्रणालीमार्फत अस्पतालको आवश्यकताअनुसार सोझै डेलिभरी गर्ने व्यवस्था मिलाउन सके पारदर्शी र प्रभावकारी हुने उद्योगीहरू बताउँछन्। ‘माग र खपतबीच ग्याप भएर पूर्ण क्षमतामा उत्पादन हुँदा पनि सिलिन्डरको खिचातानी भएको छ,’ सीता अक्सिजनका बजार व्यवस्थापक ध्रुव कार्कीले भने।  एनका अनुसार कोभिडको समस्या निम्तिनु अघिसम्म अक्सिजन उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा थिए। ५० प्रतिशत क्षमतामा सञ्चालन हुँदा अस्पताल प्रयोजनमा १५ देखि २० प्रतिशत मात्रै अक्सिजन जान्थ्यो। बाँकी ८० प्रतिशत औद्योगिक प्रयोगमा खपत हुन्थ्यो।

गत वर्षकै कोभिडको समयमा देशभरका उद्योग २० प्रतिशत क्षमतामा मात्रै चलेका थिए।  अहिलेको अवस्थालाई हेर्दा देशभर गरी कम्तीमा थप १ लाख २० हजार थान सिलिन्डर आवश्यक छ। यसमध्ये काठमाडौंलाई मात्रै ६० हजार चाहिन्छ। अक्सिजन उत्पादन गर्ने देशभर करिब २२ उद्योग छन्। यसमध्ये ८ वटा उपत्यकामा छन्। यी २२ वटै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि दैनिक १८ हजार सिलिन्डर मात्रै उत्पादन हुन्छ। तर माग बढेर अहिले दैनिक ७२ हजार सिलिन्डरभन्दा बढी पुगेको छ।

कवाडीमा जान्छ सिलिन्डर
संघका अध्यक्ष शारदाका अनुसार उद्योगले भरिएका सिलिन्डर अस्पताललाई उपलब्ध गराउँछ। तर अस्पतालका गार्ड र तल्लो निकायका कर्मचारीको मिलेमतोमा बढी रकम लिएर अन्य वा कवाडीलाई सिलिन्डर बिक्री गरिदिने प्रवृत्ति बढेको छ। गृह मन्त्रालयले हालै विभिन्न स्थानमा छापा मारेर एक दिनमै करिब ८ हजार थान सिलिन्डर फेला पारेको थियो।  यसमध्ये सबैभन्दा बढी कवाडीबाट सिलिन्डर बरामद संकलन गरेको शारदाको भनाइ छ। अक्सिजन सिलिन्डर कवाडीमा बिक्री गर्ने प्रवृत्ति मौलाएकाले यसलाई निरुत्साहित गर्नुपर्छ। ‘अस्पताल प्रणालीबाटै सिलिन्डर हराएर कवाडीमा गएको हाम्रो ठहर छ,’ शारदाले भने, ‘सिलिन्डर उपभोग गरेबापत धरौटी राख्ने र भाडा लिने व्यवस्था नहुँदा यस्तो समस्या आएको हो।’

लागत खर्च बढ्यो
कोभिडको संक्रमण बढ्दो दरका कारण अक्सिजनको अभाव हुन थालेपछि अहिले उद्योगलाई उत्पादन क्षमता बढाउन पनि दबाब परेको छ। यसका लागि उद्योगमा अहोरात्र कामदारहरू काम गरिरहेका छन्। अहोरात्र काम गर्ने कामदारलाई अतिरिक्त भत्ता दिनुपर्ने हुन्छ। उनीहरूलाई थप प्रोत्साहन खर्च दिँदा उत्पादन लागत खर्च बढेको छ। लागत खर्चअनुसार अक्सिजनको मूल्य वृद्धि गर्दा कालोबजारी गरेको आरोप लगाइने संघका उपाध्यक्षसमेत रहेका मरहठ्ठाले जानकारी दिए।

एक ट्रिप गाडीमा पहिले ५० देखि ६० वटा सिलिन्डर सम्बन्धित स्थानमा डेलिभरी हुन्थ्यो। तर सिलिन्डरको संख्या कम भएर अहिले एक ट्रिपमा १० देखि १५ वटा सिलिन्डरमात्रै डेलिभरी गर्नुपर्छ। पहिले थोरै भाडादरमा धेरै सिलिन्डर एकै पटक डेलिभरी हुन्थ्यो। तर अहिले थोरथोरै सिलिन्डर डेलिभरी गर्दा भाडादर धेरै खर्च हुँदा पनि लागत खर्च बढेको छ।

नेपालमा अक्सिजनसहितको ठूलो सिलिन्डरको बिक्री मूल्य अधिकतम साढे ४ सय रुपैयाँ तोकिएको छ। तर भारतमा त्यही सिलिन्डरको मूल्य १ हजार भारतीय रुपैयाँ छ। यसबाहेक सिलिन्डर लग्दा धरौटी राख्नुपर्ने, प्रतिदिन भाडा छुट्टै र सिलिन्डर हराएमा वा तोकिएको समयमा फिर्ता नगर्दा जरिवाना छुट्टै लाग्ने व्यवस्था छ।  लागत खर्च घटाउन प्रतिसिलिन्डरमा १ सय ५० देखि २ सयसम्म अनुदानको व्यवस्था हुनुपर्ने उद्योगीहरूको माग छ।

तत्कालै क्षमता विस्तार असम्भव
उद्योगीका अनुसार अक्सिजन उत्पादन गर्ने उद्योगको मागअनुसार क्षमता विस्तार गर्न तत्कालै कठिन छ। उद्योग स्थापना गर्न आवश्यक पर्ने मेसिन आइपुगे पनि कम्प्रेसरको फाउन्डर निर्माण गर्न कम्तीमा दुई महिना लाग्छ। उत्पादन गर्न चार महिनासम्म लाग्न सक्छ। केही पुरानो र बन्द रहेको उद्योगको मर्मत सम्भार गरी केही परिमाणमा उत्पादन बढाउन सकिए पनि ठूलो संख्यामा उत्पादन बढाउन गाह्रो हुने उद्योगीहरू बताउँछन्।

शारदाकै विराटनगरस्थित बन्द भएको उद्योगलाई मर्मतसम्भार गरी गरी अहिले सञ्चालनमा ल्याइएको छ। कवाडीको हातबाट बिक्री गर्न लागिएको उक्त उद्योग सञ्चालनमा ल्याएर अहिले प्रतिदिन २ सय ५० थान सिलिन्डर उत्पादन गर्न लागिएको छ। यस्तै सीता अक्सिजन उद्योगले पनि अहिले गत फागुनदेखि अर्को उद्योग स्थापनाको प्रक्रिया सुरु गरेको छ। यो उद्योग सञ्चालनमा आयो भने दैनिक २ हजार २ सयको संख्यामा सिलिन्डर उत्पादन हुन्छ।  सीता अक्सिजनका बजार व्यवस्थापक ध्रुव कार्कीले लिक्विडमा आधारित अक्सिजन उत्पादनमा जोड दिनुपर्ने र त्यसका लागि सरकारले प्रविधिसहितको ट्यांकरको सहयोग गर्नुपर्ने बताउँछन्।  अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका