वीरगञ्ज (पर्सा): चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात उल्लेख्य रुपमा बढेको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार सो अवधिमा पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात हुँदा रु ११ अर्ब ९९ करोड १८ लाख राजस्व आर्जन भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा मात्र एक लाख एक हजार तीन सय एक लिटर भटमासको तेल निर्यात हुँदा रु तीन करोड ११ लाखको कारोबार भएको थियो।
सूर्यमुखी तेलको निर्यात पनि उत्साहजनक
सूचना अधिकारी तिवारीका अनुसार सूर्यमुखी तेलको निर्यातमा पनि वृद्धि भएको छ। चालु आवको पहिलो ६ महिनामा दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखी तेल निर्यात हुँदा रु तीन अर्ब २१ करोड ९१ लाख राजस्व आर्जन भएको छ।
गत वर्ष सोही अवधिमा केवल रु नौ करोड ९४ लाख १० हजार मूल्यको सूर्यमुखी तेल निर्यात भएको थियो।
भारतमा निर्यात सहज भएकाले यो वृद्धि सम्भव भएको तिवारीले जानकारी दिनुभयो। “अहिले भारततर्फ तेल निर्यातमा क्रमशः सुधार देखिएको छ,” उहाँले भन्नुभयो।