सुन्ने र सुनाउने परम्परााबट विकास भएको लोकसाहित्य मानव जीवनको अमूल्य निधि हो। मानव सभ्यताको उत्पत्ति र विकाससँगै लोकसाहित्यको पनि उदय र विकास भएको हो। यसको तात्पर्य लोकसाहित्य मानव संस्कार, संस्कृति, परम्परा र पद्दति भाषासाहित्यको दह्रो जग हाल्ने खम्बा हो। त्यसैले लोेकको साङ्गोपाङ्गो अध्ययन अनुसन्धानको गर्र्ने प्रमुख कडी लोकसाहित्य नै हो। लोकसाहित्यका विभिन्न विधा उपविधामध्ये लोकगीत प्रमुख मानिन्छ। लोकजीवनमा विभिन्न प्रकारका लोकसुसेली प्रचलनमा छन्।
मानव सभ्यताको इतिहास जति पुरानो छ त्यति नै प्राचीन छ लोकसाहित्य। दैवी गुण भएका स्तुतिपरक अभिव्यक्तिहरू मानवका माध्यमबाट उल्लासपूर्ण वातावरणमा विस्तारै चाडपर्व, जन्म, मृत्यु, विवाह, यात्रा, व्रत, उत्सव आदि अनुष्ठानहरूमा गीतका रूपमा गाउन थालिए। यसरी साहित्य, कला, संगीत, सभ्यता, संस्कार, संस्कृति आदिको बिज स्रोत वेद भएको कुरा स्वत: पुष्टि हुन्छ। मानिस चेतना र जागरणको पर्याय हो। संस्कार मानिसलाई आत्मा अनुशासनमा राख्न सिकाउने कसी हो। यसको विकास सभ्यताको उषाकालदेखि नै कुनै न कुनै रूपमा परिपालन हुँदै आएको छ। यसको अर्थ पूर्ण गर्नु, सुसंस्कार गर्नु, पालिस गर्नु वा शुद्धता भन्ने लगाइएको छ। गर्भाधानदेखि मृत्युपर्यन्त अविच्छिन्न रूपमा चलिरहने वा ग्रहण गरिरहने प्रक्रिया वा कार्य विशेष नै संस्कार हुन्।
सोह्र संस्कार र संस्कार गीत
शब्दकोशमा संस्कार शब्दको अर्थ अवगुण, दोष, कमजोरी हटाई परिष्कार गर्ने काम, सुधार, संशुद्धि, खाने कुरा पकाइ तुल्याइ गर्ने काम, भाँडाकुँडा आदिको सरसफाइ, रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव, धारणा तथा वैदिक विधिअनुसार गरिने ब्राह्मणका सोह्र संस्कार वा कृत्य भन्ने लगाइएको छ। प्रयोगात्मक शब्दकोशमा संस्कार शब्दलाई अथ्र्याउने क्रममा दोष, खोट, कमजोरी आदि हटाउने काम भन्ने संकेत गरिएको छ। यी शब्दकोश ग्रन्थमा दिइएका अर्थलाई हेर्दा मानिसका जन्मजन्मान्तर अन्तरबाह्य शुद्धिका लागि गरिने सम्पूर्ण कार्य विशेषलाई संस्कार भन्न सकिन्छ। संस्कार विज्ञान र मनोविज्ञानदेखि लिएर सभ्यता, संस्कृति तथा जीवन यापन गर्ने विशिष्ट माध्यम वा तरिका हो।
संस्कारबिनाको मानिस त पशुतुल्य हुन्छ। संस्कारजन्य व्यवहारले नै मान्छे मान्छे भएको हो। अन्यथा मान्छेका कोटिमा दरिने थिएन। अनादि कालदेखि विकसित हुँदै आएका यस्ता संस्कारहरू कुनै न कुनै तरिकाबाट समाजमा व्यक्त हुँदै आएका छन्। ती संस्कारहरूलाई एक कदम माथि उठाउन संस्कार गीत एउटा महŒवपूर्ण माध्यम बनेको छ। संस्कारका उपर्युक्त अर्थ र परिभाषालाई हेर्दा संस्कार गीत हाम्रा परम्परित मान्यताहरू समुदायमा अविच्छिन्न तरंगित हुँदै आएका वासनात्मक स्वरूप संस्कार गीत हुन्। सनातन हिन्दू समाजले अपनाएका १६ प्रकारमा संस्कार उल्लेख छन्। यिनै संस्कारमा गाइने गीत नै संस्कार गीत हुन्। सोह्र संस्कारमध्ये मुख्य जन्म, विवाह र मृत्य यी तीन संस्कारचाहिँ प्राय: सबै जाति र धर्ममा देखिन्छ।
मानिसको जीवनशैली संस्कारकै परिणती
जन्म, पास्नी, छेवर, व्रतबन्ध, विवाह, मृत्यु र अन्य धार्मिक, सांस्कृतिक उत्सवहरूमा प्रचलित लोकाभासयुक्त गीतले हाम्रा संस्कारलाई प्रतिबिम्बित गर्दछ। सनातन हिन्दू संस्कारमा कुनै न कुनै रूपमा गाइने यस्ता संस्कारसँग सम्बन्धित गीत संस्कार गीत हुन्। यी गीतले हाम्रो समाजमा स्थान पाएकै छ। संस्कार गीतले प्राचीनताको झलक, वर्तमानको चेतना र भविष्यको मंगललाई संकेत गरेको हुन्छ। हामी अहिलेसम्म जुन जीवनशैली बाँचेका छौं, त्यो हाम्रै संस्कारकै परिणति हुन्। समयानुकूल हुने परिवर्तन र त्यसै अवसरमा गाइने गीत संस्कार गीत हुन्। कतिपय संस्कारहरू गीतकै कारण जीवित रहेका छन्। नेपाली लोकसंस्कृतिका दृष्टिले पूर्वभन्दा पश्चिमा समृद्ध छ। लोकसंस्कृतिको विकासमा यसको महŒवपूर्ण योगदान पुर्याएको छ।
अंग्रेजी साहित्यमा पनि संस्कारको समानार्थी शब्दका रूपमा रिचुअल शब्दको प्रयोग भएको पाइन्छ। कर्मकाण्ड, धार्मिक विधिअनुसार गरिने कार्य भन्ने हुन्छ। यसको अर्थ आत्मा शुद्धि, अकालमा मृत्यु भएका वा ज्यान गुमाएकाप्रति गरिने कर्मका रूपमा लिइएको छ। यसैगरी धर्म, विधि, संस्कार, रीतिरिवाज, अनुष्ठान भन्ने अर्थ लगाइएको छ। यस्तै संस्कारकै अर्थमा पर्गेसन शब्दको पनि प्रयोग भएको छ। शब्दले पनि मान्यता, धार्मिक सम्प्रदाय वा धार्मिक निष्ठा भन्ने अर्थ दिन्छ। यसरी संस्कारका समानार्थी शब्दका रूपमा आएका उपर्युतm शब्दार्थले पूजा, भक्ति, श्रद्धा, आराधना, महिमाजस्ता अर्थ वहन गरेकाले संस्कारलाई नै संकेत गरेको बुझिन्छ।
यस प्रकार संस्कारलाई पश्चिमी साहित्यमा पनि संस्कृति, धार्मिक पूजा प्रणाली, लोकप्रसिद्ध कार्य गर्ने बानी वा केही गरिरहने चाहना भन्ने भाव ग्रहण गरेको बुझिन्छ। अंगे्रजीमा पनि परम्परागत रूपमा रीतिरिवाज, चालचलन वा जन्मदेखि मृत्युपर्यन्त गरिने कृत्यलाई बुझाएको छ। पाश्चात्य लोकसंस्कृतिमा पनि विभिन्न अवसरमा गाइने लोकगीतहरू प्रचलनमा भएको कुरा भारतीय लोकसाहित्सयका अध्येता डा. कृष्णदेव उपाध्यायले आफ्नो ‘लोकसाहित्यकी भूमिका’ ग्रन्थमा उल्लेख गरेका छन्। पाश्चात्य संस्कृतिमा रिचुअल सङ्ग भनी चर्चा गरेको पाइन्छ। संस्कार गीतमा जन्मका अवसरमा बर्थडे सङ्ग र मृत्यका अवसरमा किन्स अर्थात् विलाप गीतका रूपमा प्रचलित छन्।
यस्ता मृत्यु संस्कारजन्य गीतहरू भारतको मथुरा जिल्ला र भोजपुरी प्रदेशमा अहिले पनि प्रचलित छ। उर्दु लोकसाहित्यमा पनि मृत्युपश्चात् शोकगीत लेख्ने प्रथा छँदैछ। विश्वका कतिपय मुलुकमा अहिले पनि मृत्यु संस्कारसँग सम्बन्धित गीत गाइन्छ। यस्ता मुलुकहरूमा फ्रान्स, इटली, कार्सिया टापु आदि विभिन्न मुलुकमा संस्कार गीत गाइन्छ। यसरी हेर्दा विश्वका सबै देशमा जातीय संस्कार जीवितै रहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ। यति हुँदाहुँदै पनि खोज अनुसन्धान र लोकसंस्ककारको मर्म थाहा नहुँदा बिस्तारै बिस्तारै लोप हुने अवस्थामा पुगेको महसुस हुन्छ।
संस्कार गीतहरू
लोकानुभूतको स्वभाविक रचना लोकसाहित्य हो। लोकसाहित्यका विभिन्न विधा उपविधामध्ये लोकगीतलाई प्रमुख मानिन्छ। लोकगीतको वर्गीकरण गर्ने विभिन्न आधारमध्ये प्रकार्यका आधार लोकगीतलाई सामान्य र विशेष गरी दुई भागमा वर्गीकरण गरेको पाइन्छ। कुनै अवसर नहेरी वा जुनसुकै अवस्थामा गाउन सकिने कौरा, ख्याली, झ्याउरे आदि सामान्य गीत हुन् भने खास अवसर पारेर मात्र गाइने पर्व, श्रम, प्रार्थना र संस्कार आदि गीतचाहिँ विशेष लोकगीत हुन् भनी चुडामणि बन्धुले लेख्नुभएको छ। यसरी प्रस्तुति गर्ने अवसरलाई आधार मानेर हेर्दा संस्कार गीत विशिष्ट सन्दर्भमा मात्र गाउन सकिने हुनाले विशेष लोकगीतका कोटिमा राख्नु वाञ्छनीय देखिन्छ।
दुलाहा जन्ती लिएर दुलहीको घरमा गएपछि दुलाहाको घरमा रातभर नाचगान गरेर रत्यौली खेलिन्छ। नेपाली महिलाहरूले जाग्राम बसी नृत्यसहित प्रस्तुत गरिने एक प्रकारको संस्कार गीत नै रत्यौली हो। वरका घरबाट वधूको घरतर्फ जन्ती प्रस्थान गरेपछि रत्यौली खेल्न थालिन्छ।
परम्परित रूपबाट चलिआएका संस्कारहरू हाम्रा जीवनका अभिन्न अङ्ग बनेका छन्। सनातन हिन्दू समाजमा यस्ता संस्कारले दह्रै गरी खुट्टो घुमाएको छ। धेरैजसो कार्य धर्म र संस्कृतिसँग जोडिएर आएका छन्। नेपाली समाजमा जन्मनु पूर्वदेखि लिएर मृत्युपर्यन्त जे जति संस्कार छन्, ती कुनै न कुनै रूपमा प्रकट भएकै छन्। बच्चा जन्मेको दिन खुसियाली, छैटौं दिन छैटी कर्म गरी बच्चाको सिरानमा कापी र कलम राखेर भावीले राम्रो भाग्य लेखोस् भनी कामना गर्ने प्रचलन चलिआएकै छ। न्वारान, छेवर, व्रतबन्धमा होस् या विवाहमा आफ्नो भूगोल र प्रचलन अनुसार संस्कार गीत गाइएकै हुन्छन्। छोरा, छोरीको नाक, कान छेड्ने र छोरीलाई गुन्यौं चोली दिनेजस्ता संस्कारहरू अद्यावधि छँदैछन्।
घरको जग खन्दा, घरपैचो गर्दा, तीर्थव्रत, आरम्भ गदार्, पूजाआजा गर्दा वा सहभागी हुँदा, उल्लास अनि आनन्दका साथ जुन गीतले स्वत:स्फूर्त रूपमा स्थान पाउँछ, तिनै संस्कार गीत हुन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र होइन। देशबाहिर पनि आफ्ना रीतिरिवाज र परम्परा अनुसार जुनसुकै संस्कार कार्य गर्दा गाइने लोकगीतहरू नै संस्कार गीत हुन्। नेपाली जनजीवन वैदिक हिन्दू सनातन संस्कार बाहेक अन्य धर्मावलम्बी पनि आफ्नै किसिमका संस्कारहरू मनाउँछन्। कतिपय त साझा संस्कारका रूपमा पनि विकसित भइसकेका छन्। खासगरी हाम्रा परम्परादेखि प्रचलमा आएका मुख्य नेपाली संस्कार गीतहरूलाई मात्र यहाँ उदाहरणसहित उल्लेख गरी अन्यलाई चाहिँ नामांकन मात्र गरिएको छ।
क) मागल : मागल पश्चिम नेपाल खासगरी डोटी, कर्णालीतिर गाइने संस्कार गीत हो। मागल मंगल तत्सम शब्दको तद्भव रूप हो। यसलाई स्थानअनुसार डोटी, कर्णाली भेगमा मागल र प्युठान पूर्व महाल भनेको पाइन्छ। संस्कार गीतका सन्दर्भमा यो मंगल गीत हो। यो गीत पुत्र वा बालो जन्मँदा, न्वारान गर्दा, ब्रतबन्ध गर्दा, तीर्थयात्रा गर्दा, गृहनिर्माण गर्दा, वा कुनै पनि शुभकार्य गर्दा यो गीत गाइन्छ। यो गीत पश्चिम नेपालमा मात्र नभएर अहिले त पूर्वी नेपालमा पनि प्रचलनमा आइसकेको छ। यो गीत जन्म दिने भाग्यमानी महिलाले ब्रह्माजीसँग छोराको भविष्यका बारेमा सोधनी गरेको प्राचीन ढाँचामा गाइन्छ। विभिन्न मांगलिक अवसर गाइने यो नारी गीत हो। यस गीत बाद्य र नृत्यविना नै फूलको झुप्पो वा चमर डोलाएर शुभकार्यमा गाइन्छ, जस्तै :
गंगा जमुनाको पानी, कलशभरि आनी
घोऊ न घाऊ मेरा बाबा कन्याको पाउ
पाउ पखाली शिर चढाई (विवाहको मागल)
ख) सगुन : सगुन तत्सम शब्द शकुनको तद्भव रूप हो। लोकव्यवहारमा सगुन भन्नाले शुभलग्न, साइत वा शुभकार्यका अवसरमा प्रदान गरिने उपहार, कुनै विशिष्ट अनुष्ठानमा पठाइने निम्तो, कोसेली, साइतमा लगाइने टीका, दिइने फलफूल, राखिने घडा आदिलाई बुझिन्छ। यो पनि जन्मदेखि विवाहसम्मका संस्कार, यज्ञ, व्रत, पूजा, उत्सव, धार्मिक यात्रा आदिका अवसरमा गाइन्छ। सगुन धार्मिक, सामाजिक र पारिवारिक संस्कारसँग सम्बन्धित गीत हो। सन्तानको जन्म हँुदा, सुतकबाट चोखिँदा, मृत्युको वर्ष दिनको कामबाट चोखिँदा, व्रतबन्ध गर्दा, दुलाहा अन्माउँदा दुलही भित्र्याउँदा सगुन ख्वाउने र गाउने परम्परा हाम्रो समाजमा छ। अझ क्षेत्री बाहुन समाजमा सगुन ख्वाउँदा वा बाँड्दा दमाइँलाई बोलाएर सहनाइको धुनमा सन्जे जगाउँदै तेत्तिसकोटि देवतालाई पुकार्दै शुभ वा मंगलको कामना गरिन्छ। त्यस समयमा आफ्ना आफन्त, आमन्त्रित तथा मित्रजनलाई पनि दही, फलफूल आदि बाँड्ने र भोज भतेर गरी रमाइलो गर्ने प्रचलन छ :
सिमेर भुमे तेत्तिसकोटि देउता साथैमा
कुल र धर्म देउराली देवी बसेको माथैमा
धर्म र कर्म दु:ख र मर्म मान्छेको जातैमा
देउता तिम्रो भोग र भाग पन्छायौं पातैमा, जदौ, जदौ..!
ग) फाग : कुनै पनि माङ्गलिक कार्य गर्दा सुदूरपश्चिम वा डोटी प्रदेशका महिलाद्वारा सामूहिक रूपमा गाइने मागलभन्दा केही भिन्न प्रकृतिको मंगल गीत नै फाग हो। डोटेली भाषामा फागको अर्थ माहुरीको घारको खट्प्वाल हो। घारभित्रका मौरीको अटुट रूपमा गुनगुनाहट भए जस्तै त्यहाँका नारीहरूले सङ्गीतात्मक प्रवाहमा गुनगुनाइने भएकाले यसलाई फाग भनिएको तर्क केही विद्वान्हरूले अगाडि सारेका पनि यो प्रमाणित भने हुन सकेको छैन। यो संस्कार गीत पनि मागल र सगुन जस्तै जन्मदेखि विवाहसम्मका यज्ञ, व्रत, पूजा, उत्सव, जात्रा आदिकै अवसरमा गाइन्छ।
फाग डोटेली भाषिकाको आफ्नै किसिमको लय हो। यो एउटा छन्द गीत हो, संस्कार गीत हो, मंगल गीत हो, नारी गीत हो, कर्मकाण्ड हो, सामाजिक एकता कायम गर्ने प्रमुख आधार हो र जातीय स्वाभिमान बचाएर राख्ने अतीतको चिनो हो। मागलको प्रारम्भिक भागमा सगुन हुन्छ भने त्यसपछि मध्य र अन्त्यमा फाग हुन्छ। त्यसैले सगुन र फागको साझा नाम मागल हो। डोटी प्रदेशको सर्वाधिक प्रचलित महत्त्वपूर्ण लोकगीत हो। तीमध्ये कुनै जीवन संस्कारसँग सम्बन्धित छन् भने कुनै पूजा, व्रत र देव संस्कारसँग सम्बन्धित छन्, जस्तै :
छाल बुबु छाल बुबु पाउ छाली दिए, पाउ छाली सिरमाथ हाल
देवता खुलास हुन्ना पितरी खुलास, ह्वैजालो वैकुण्ठ बास।
छाल जिया छाल जिया पाउ छालिदिय, पाउ छली सिरमाथ हाल
देवता खुलास हुन्ना पितरी खुलास, ह्वैजालो वैकुण्ठ बास।
घ) रत्यौली : ‘रात र एली’ रतेली वा ‘रात र यौली’को योगबाट रत्यौली शब्द बनेको हो। यसलाई रतेउली पनि भनिन्छ। दुलाहा जन्ती लिएर दुलहीको घरमा गएपछि दुलाहाको घरमा रातभर नाचगान गरेर रत्यौली खेलिन्छ। नेपाली महिलाहरूले जाग्राम बसी नृत्यसहित प्रस्तुत गरिने एक प्रकारको संस्कार गीत नै रत्यौली हो। यो नेपालका समस्त भागमा तथा नेपाल बाहिर भुटान र आसामतिर समेत प्रचलनमा छ। वरका घरबाट वधूको घरतर्फ जन्ती प्रस्थान गरेपछि रत्यौली खेल्न थालिन्छ। यो मनोरञ्जनका साथै हास्यव्यंगात्मक संस्कार गीत हो।
यसको सांस्कृतिक मान्यता के छ भने वरको ग्रहशान्ति गरेको दिन ज्युँती (कोठामा बालिएको बत्ती) अर्काे दिन वधू नभिœयाउन्जेल त्यो बत्तीलाई निभ्न दिनु हुँदैन। त्यसैले यसका लागि पनि छरछिमेक आफन्त महिला जम्मा भई रातभर रत्यौली गीत गाइन्छ। यो गीत भगवान् कृष्णको रतिलीलाका क्रममा गाइने गीतबाटै रत्यौलीको जन्म भएको हो भन्ने मत पनि छ। यहाँ महिलाहरूको वर्चस्व रहन्छ। पुरुषलाई प्रवेश निषेध गरिएको हुन्छ। यस संस्कार गीतमा शृंगारिकताले बढी मात्रामा स्थान पाएको हुन्छ। त्यसका अतिरिक्त अन्य गीत पनि गाइन्छ, जस्तै :
हाम्रो भाइ क्या इमानदारी
ल्याउँछ दुलही छातीको ढाल मारी
आइन् आमा लच्छिनकी बुहारी
मुख हेर दोसल्ला उघारी
यही हो नानी जुग जानी घर
खुसी साथ आमालाई ढोग गर।
ङ) करातल/कराँत : करातल वा कराँत एक प्रकारको शोक गीत हो। यसलाई चाँचर, कोर्को वा कर्को पनि भन्ने गरेको पाइन्छ। यो गीत दैलेख जिल्लाको दमाइँ समाजमा अहिले पनि प्रचलनमा छ। शवयात्रामा मृत व्यक्तिको गुणगान, परिवार जनमा सान्त्वाना, मृत व्यक्तिको स्वर्गवास र पुनर्जन्म पवित्र स्थानमा होस् भन्ने कामनाका साथ मलामी जाँदा यो गीत गाइन्छ। यस गीतमा त्रेता, द्वापर र कलियुगका प्रसंगका ल्याएर मृत व्यक्तिका विशेषताको वर्णन गरिन्छ। दु:खपूर्ण मानसिक स्थितिले गर्दा यो गीत गाउने गायकहरू भावविभोर हुन्छन्। नौमती बाजाको कारुणिक धुनमा यो गीत गाउँदा मलामीहरू पनि दु:खित मानसिकतामा हुन्छन्, जस्तै :
कराँत
कैसन उठनि कैसन बैठनि कैसन रहनि दरिबार
सुनकै टेकनि उठनि बैठनि कैसन रहन दरिबार
सुनकै टेकनि उठनि बैठनि सुनकै रहनि दरिबार
हो महाराजैसत्य जुगमासुनैका दरबार।
यो संस्कार गीत पूर्वी नेपालको कमला खोंचका माझीहरूले पनि मृत्यु संस्कारकै अवसरमा मादलको उल्टो तालमा मैनाचरीको भाकामा गीत गाएको पाइन्छ। यो गीत माझीहरू मृत्युजन्य व्यथालाई बिर्साउन नृत्यसहित प्रस्तुत गर्दछन्। छैथलीका कुसबार (माझी)हरूले श्राद्धको अवसरमा गाइने गीतको कर्नेल जेस्टले अनुवादसमेत गरेका छन्। दसैंको सोह्र श्राद्धको अवसरमा माझीहरूले चार दिनसम्म यो संस्कार गीत गायन गर्ने चलन छ, जस्तै:
कमला खोंचका माझीहरूले गाउने
दूधैकोसी बाढी आयो शिरै फुट्यो मूल
पितृले रुचाई ल्याए बाबरीको फूल
बाबरीको फूलै टिपी माथैभरि लाऊ।
त्यस्तै गुरुङ जातिमा पनि ‘स्यार्गा’ नाच नाचेर मृत्यु संस्कार मनाइन्छ। यसरी नेपाली जनजीवनमा जन्मदेखि मृत्युपर्यन्त कुनै न कुनै संस्कारहरू प्रचलनमा छन्। मृत्युबाहेक अन्य संस्कारका गीतहरू स्वभावत: धेरै छन्। मृत्युसँग सम्बन्धित गीतचाहिँ कमै मात्र प्रचलित छन्। सबै जातजातिमा मृत्यु संस्कारका गीत प्रचलनमा छैनन्।
यसका अतिरिक्त अन्य २३ प्रकारका संस्कार गीतहरूको चर्चा गरेको पाइन्छ। १. मागल २. मंगल ३. सगुन ४. फाग ५. आसिका ६. झोडा ७. रत्यौली ८. खुड्का ९. विवाहमा गाइने सिलोक १०. खाँडो ११. तरबारे गीत १२. जैमलपत्ता १३. कराँत १४. विधि १५. भेलौरे गीत १६. सैरेलो १७. भैली १८. भैलो १९. देउसी रे २०. भुओ २१. तोरन तार्दाको गीत २२. फागु २३. होरी आदि संस्कार गीत हुन् भनी उल्लेख गरेका छन्।
उल्लेखित संस्कार गीतहरूमा मागल, मंगल, सगुन, फाग, आसिका, झोडा, खुड्का, तरबारे, जैमलपत्ताजस्ता गीत विवाह, व्रतबन्ध, पास्नी, छेवर, अक्षरारम्भ तथा अन्य संस्कारसँग सम्बन्धित गीत हुन्। विधि बोटे जाति र भेलौरे गीत गुरुङ जातिमा प्रचलित कराँतजस्तै मृत्यु गीत हुन्। तोरन तार्दाको गीत धार्मिक गीत हो। यस्तै खाँडो र सिलोकचाहिँ विवाहका अवसरमा गाइने लोकपद्य वा लाककवित् हुन्। यसैगरी सैरेलो, भैली, भैलो, देउसी रे, भुओ, फागु र होरीचाहिँ पर्व गीतअन्तर्गत राख्नु उपयुक्त होला।
सामान्य र विशेष गरी नेपाली लोकगीत दुई प्रकारका छन्। सामान्यलाई सदावहार पनि भनिन्छ। यसअन्तर्गत डेउडा, झ्याउरे, कौरा, रोइला, संगिनी, हाक्पारे, दोहोरी, सेलो आदि पर्दछन्। त्यसैगरी विशेष लोकगीतमा श्रमगीत, पर्वगीत र संस्कारगीत पर्दछन्। सांस्कृतिक रूपमा सम्पन्न हाम्रो देशमा प्रत्येक जातिका आआफ्नै संस्कारहरू छन्। ती सस्ंकारअनुसार गाइने गीत पनि आफ्नै प्रकारका छन्। जन्मदेखि मृत्युपर्यन्त गरिने संस्कार र तिनै संस्कारसँग सम्बन्धित विशेष स्थान र अवसरमा मात्र गाइने भएकाले यस्ता गीतलाई विशेष भनिएको हो।
अन्नपूर्णबाट साभार